हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन

नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। 

मंगलबार मलेसियामा भएको उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो। यसअघि नेपालले २ वर्षअघि भएको प्रतियोगिताको पनि उपाधि जितेको थियो। 

हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो। 

नेपालका ओपनर रित गौतम १३ रन र पवन सर्राफले ३९ रन जोडे। रितले १४ बलमा २ चौका र पवनले ३६ बलमा ५ चौका र १ छक्का हिर्काए।

खडकबाहादुर बोहरा २२ बलमा ८ रन र कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन जोडेर आउट भए। भीम सार्कीले नटआउट ८ रन जोडे।

बलिङमा हङकङका रौनक कपुरले २ विकेट लिए।  

त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४३.१ ओभरमा ९५ रनमै अलआउट भयो।

हङकङको इनिङ ध्वस्त पार्न नेपालका सागर ढकालले घातक बलिङ गरे। उनले ५ विकेट हात पारे। किफायती बलिङ गरेका उनले १० ओभरमा १८ रन खर्चिए। सागरले ५ ओभर मेडन राखेका थिए।

यस्तै कमलसिंह ऐरीले ३ विकेट हात पारे। कमलले ८ ओभरमा २ मेडन राख्दा २३ रन दिए। कुशल मल्ल र तिलकराज भण्डारीले १-१ विकेट लिए। कुशलले ८.१ ओभरमा ५ मेडन राख्दा ४ रन मात्र खर्चिएका थिए।

हङकङका लागि अदित गोरावाराले सबैभन्दा बढी २४ रन बटुले। उनले ७१ बल खेल्दा ४ चौका प्रहार गरेका थिए।

कुल्हान मार्क काल्लुले ३८ बल खेलेर २ चौका र १ छक्काको मद्दतमा १९ रनको योगदान दिए। रौनक कपुर १२ रन बनाउदा अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न नपाई आउट भए।

उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने यू-१९ एसिया कपमा छनोट भएको छ।

एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएईले खेल्ने पक्का भइसकेको छ। 

source: setopati.com

You can share this post!