व्यापार युद्ध चीन–अमेरिकाबीच, ग्लोबल कम्पनी भारत भित्राउने छिमेकी दाउ

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्धले वर्ष दिन नाघिसकेको छ । चिनियाँ कम्पनी हुवावेका बारेमा अमेरिकाले विभिन्न अड्कल लगाउँदै त्यसमाथि प्रतिबन्धको घोषणा नै गरिदियो । चीनले भने यसलाई अमेरिकाको व्यापारिक असमझदारी बताउँदै आएको छ । एकातिर प्रतिबन्ध छ भने अर्कोतिर यी दुई देशबीच अल्झिएको व्यापारलाई सुल्झाउने नाममा छलफल पनि चलिरहेको छ । 

हालै जापानमा सम्पन्न जी २० शिखर बैठकमा चीन र अमेरिकाका राष्ट्रपतिले भेट गर्दै व्यापार वार्तालाई नयाँ ढङ्गबाट अगाडि बढाउने विषयमा सहमति गरे । उक्त सहमतिपश्चात् यी दुई महाशक्ति राष्ट्रबीचको व्यापार युद्धको हिउँ पग्लने अपेक्षा गरिएको छ । व्यापार युद्धले दुवै देशलाई हानि गर्नुका साथै विश्व अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्ने चिन्ता गर्न थालिएको छ । 

यसैबीच छिमेकी भारतले भने चीन–अमेरिकाबीचको असमझदारीलाई आफ्नो पक्षमा ल्याउने ढङ्गबाट सोच्न थालेको छ । अमेरिकी कम्पनीहरु जो चीनमा चलिरहेका थिए, तिनलाई आफूतिर तान्ने काममा भारत सरकार जुटेको छ । भारत सरकारले चीनमा चलिरहेका २५० भन्दा बढी अमेरिकी म्यान्युफ्याक्चरिङ कम्पनी (जो भारत आउन चाहन्छन्)सँग कुराकानी थालिसकेको छ ।   

यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदबीच कुरा भइसकेको इकोनोमिक टाइम्सले लेखेको छ । ट्रम्प र मोदीबीच जी २० सम्मेलनमा भाग लिने क्रममा भेट भएको हो । चीनमा थुप्रै मुलुकका कम्पनीहरुले उत्पादन उद्योग सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय चीनको राजनीतिक, आर्थिक तथा रणनीतिक कारणबाट उत्पन्न भएको गम्भीर अवस्थाले ग्लोबल कम्पनीहरु वैकल्पिक स्थानको खोजीमा छन् । विशेषगरी अमेरिकासँग चलेको व्यापार युद्धका कारण त्यस्ता कम्पनीहरुले रिलोकेसन तथा डाइभर्सिफाइड लोकेसनको खोजीलाई तीव्र बनाएका छन् । 

भारतले यसै अवस्थालाई एउटा अवसरका रुपमा प्रयोग गर्न खोजेको हो । आईटी प्रडक्ट्सका लागि आफ्नो देश सस्तो म्यान्युफ्याक्चरिङ हब बन्न सक्ने भारतको भनाइ छ । यो अवसरलाई छोप्नका निम्ति भारतले ‘इन्टर मिनिस्ट्रियल प्यानल’ गठन गर्ने कुरासमेत अघि बढाएको छ ।    

उता, दुई शक्तिशाली मुलुक चीन र अमेरिकाबीच बढ्दो तनावका समयमा यसरी भारतले चीनमा रहेका म्यान्युफ्याक्चरिङ कम्पनीलाई आफूतिर तान्नु उचित होला कि नहोला भन्ने विषयमा पनि सोच्नुपर्ने कतिपयको भनाइ छ । यसमा भारतले सावधानी अपनाउनुपर्ने अवस्था पनि छ । चीनबाट मोबाइल एक्सेसरिज, अटो कम्पोनेन्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, कन्ज्युमर ड्युरेबल्स, प्रोसेस्ड फुडलगायत कम्पनी सिफ्ट हुन सक्ने बताइन्छ । यस्ता कतिपय कम्पनीले अहिले भियतनाममा आँखा लगाइरहेको पनि देखिन्छ । यसमा भारतले आफूलाई उपयुक्त साबित गर्न सक्नुपर्नेछ ।

दुई देशबीचको व्यापारिक विवादलाई ‘मौका’का रुपमा हेर्ने मुलुक भारतमात्र नहुन पनि सक्छ । अर्कोतिर विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)का नम्र्सको पालनाबारे पनि विचार गर्नुपर्नेछ । आन्तरिक रुपमा त भारतले धेरै सन्दर्भ अघि बढाइसकेको देखिन्छ । भारतले आफ्नो इन्भेस्टमेन्ट प्रमोसन विङ र इन्भेस्ट इन्डियासँग नीति–निर्माणको पहल गर्न सहयोगको मागसमेत गरिसकेको छ । 

इन्भेस्ट इन्डियाले जापान, दक्षिण कोरिया र ताइवानजस्ता मुलुकका कम्पनी जो चीनबाट सिफ्ट हुन चाहिरहेका छन्(ट्रेड वारका कारण), तिनलाई पनि भारतमा लगानी गराउन कोसिस गरिरहेको छ । जापानका केही कम्पनीहरु सन् २०१४ देखि नै भारतमा आफ्नो उपस्थिति बढाउन इच्छुक देखिँदै आएका छन् । भारत र जापानबीचको सम्बन्धका कारण आगामी दिनमा लगानी बढ्ने अवस्था पनि छ । कतिपय भारतीय विश्लेषकका अनुसार दक्षिण कोरियाली कम्पनी (म्यान्युफ्याक्चरिङसमेत) जापानबाट भारत सिफ्ट हुन सक्छन् । 

भारत सरकारले यी यावत् सकारात्मक अवस्थालाई कार्यान्यनको तहमा लैजान भरमग्दुर प्रयत्न गरिरहेको छ । यसबाट भारतमा व्याप्त बेरोजगारी कम हुनुका साथै लगानीको हब बन्ने सम्भावना उत्तिकै छ । यसले भारतीय अर्थतन्त्रमै व्यापक सकारात्मक प्रभाव पार्ने विश्लेषकहरुको भनाइ छ । Source: baarhakhari.com

You can share this post!