काठमाण्डौ – विश्व हिन्दू परिषदले आफ्नो ५७ औं स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव कार्यक्रम मनाएको छ । विश्व हिन्दू परिषदको स्थापना सन १९६४ श्री कृष्ण जन्माष्टमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्री कृष्ण जन्माष्टमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ । परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौ, पोखरा, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु लगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन संध्या लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव मनाएको छ ।
काठमाण्डौ जाउलाखेल स्थित हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको सभाहलमा सोमबार कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारी, प्रमुख आतिथ्यता काठमाण्डौ जिल्ला अध्यक्ष श्री बल बहादुर कार्की, विशिष्ट आतिथ्यता बरिष्ठ राजनीतिक विश्लेषक श्री देवेश झाको रहेको थियो । सो कार्यक्रममा परिषदका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमार, राष्ट्रिय उपाध्यक्ष श्री उद्धव कुमार घिमिरे, एकल अभियानका तर्फबाट महासचिव महाविर घिराईया, अभियान प्रमुख श्री अरविन्द साह, विकास प्रमुख श्री विरेन्द्र बुढाथोकी लगायत परिषदका स्थानीय शुभचिन्तक तथा कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।