राउटेको फैसला

कविता

बीपी बिद्राेही

झिलिमिली शहरको रंगिन दरबारभित्रका
ए ! बन्दुकले घेरेको न्यायलय सुन !
ए ! धारा उपधाराका ठेली सुन !
ए ! सुकिला न्यायाधीश सुन !
गुर्भाकोटको यो स्वतन्त्र भेरी किनारबाट
मैलो गादो र कछाड लगाएको
म मैन बहादुर राउटेको निष्फिक्री बयान सुन !

 

न आयें कहिल्यै नागरिकता माग्न
न आयें कहिल्यै लालपुर्जा माग्न
न आये कहिल्यै तिम्रो बिरुद्द जुलुस लगाउन
न बोलें तिम्रो भाषा
न पहिरें तिम्रो भेष
न गायें तिम्रो गित
न बजायें तिम्रो बाजा

 

तिमिले महाकाली बेचेर खायौं
म भोकै सुतें सिङ्गो युग धर्म सम्झेर
तिमिले कालापानी बेचेर खाँदा
मैले कन्दमुल कोट्याएर चपायें
नदेखाउ मलाई सभ्यता त्यो आडम्बरी ध्वाँस
बरु आउ

 

आज जोख्यौं तिम्रो र मेरो
चेतनाको तौल र बिबेकको लम्बाइ
स्कुलमा कपुरी क पनि नपढेको मेरो छोरो
जन्मदै ताराबाजी लैलै घोकेर जन्मिएको तिम्रो छोरो
बाँदरको मासु खाएर हुर्किएकि मेरि छोरि
एम फर मङकी पढेर हुर्किएकी तिम्री छोरी
म बेखबर छैन तिम्रो सन्तानका उपद्रोहरुसंग
किन छेकेन त्यो बिश्वबिद्धालयको शिक्षाले
तिम्रो छोरालाई अफिम तान्न
किन रोकेन तिम्रो बोर्डिङको बिद्याले
छोरिहरुलाई अरबमा बेचिन ?

 

कहिल्यै सुन्यौ ?
राउटेको छोरो आएर तिम्रो मुलुकमा
डकैती गर्यो ?
कतै देख्यौ राउटेको छोरी मुदिरको गल्लिमा
घोप्टो परेर रोएको ?
के ले छेकेन अपराध
के ले छेक्यो कुसंस्कार ?

 

तिमिले हामिलाई सधैं हेप्यौ
मेरो लगौंटीभन्दा मैलो तिम्रो दृस्टीले
सधै मधुरो देख्यो हाम्रो बिबेक
मेरो आँगनमा
दुईचार सय भत्ता र दुई चारवटा तृपाल फालेर
मनमनै गर्यौ जंगली सैतानों स्वाह !
र अखबरमा छाप्यौ
आदिबासी राउटेको ख्याउटे कथा !

 

तिम्रो नजरले कहिल्यै देखेन
हामी राउटेको आँखाभित्र दन्किरहेको
बिद्रोहको लप्का
तिम्रो सत्ता बिरुद्ध प्रतिरोधको ज्वालामुखी
तिमिलाई संधै हेयले हेर्यौ
हामिले सधै संयमताले नियाल्यौं
धैर्यताले बाध्यौं आबेगहरु !

 

यो राउटेको बयानमात्र होइन
यो राउटेको फैसला हो
तिम्रो कुरुप ब्यबस्था बिरुद्धको
तिम्रो कथित सुशासित खोरका साँडेहरुले
लुछेका मेरो आदिम बगैंचाका कोमल फुलहरुलाई
सांची राखेर हामी प्रतिबद्धता गर्दछौं
अबहामी राउटेहरु मास्टो र भुंयार होइन
अब माक्र्सवाद पढनेछौँ।

You can share this post!