इृजरायलद्धारा प्यालेष्टाईनी नागरिकमाथि निरन्तर बम आक्रमण, मृतकको संख्या बढ्दै

एेजेन्सी – अन्तराष्ट्रिय समुदायको आलोचना र विभिन्न देशमा ईजरायल बिरुद्ध प्रदर्शन भईरहेपनि इजरायलले प्यालेष्टाईनी नागरिकमाथि आक्रमण जारी राखेको छ । लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा आईतबार एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो ।

यसअघि सन् २०१४ मा हमास र इजरायलबीच भिषण युद्ध भएको थियो । तर यसपटकको विनाश सन् २०१४ को भन्दा विनाशकारी रहेको दुबै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल–खातिबले बताउनुभयो । गाजामा भएका सयौं हवाई आक्रमणबाट हालसम्म कम्तीमा १८८ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ जसमा ५५ जना बालबालिका र ३३ जना महिला छन् । आक्रमणबाट एक हजार २३० जना घाइते भएका छन् । गाजाबाट इजरायलतर्फ प्रहार गरिएका तीन हजारभन्दा बढी क्षेप्यास्त्रबाट हालसम्म आठ जनाको मृत्यु भएको छ ।

हमास र इस्लामिक जिहाद विद्रोही समूहले आफ्नातर्फ २० जना लडाकू मारिएको स्वीकार गरेका छन् तर इजरायली सेनाले यो भन्दा अझ ठूलो संख्यामा लडाकू मारिएको जनाएको छ । पछिल्ला आक्रमणबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसंघीय कुटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसंघीय सुरक्षा परिषदलाई जानकारी गराउनु भएको छ । इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषदबाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्तराज्य अमेरिकाले रोकिदिएको छ । प्यालेस्टिनी विदेश मन्त्री रियाद अल–मलिकीले सुरक्षा परिषद समक्ष इजरायली आक्रमण रोक्नेतर्फ तत्काल पहल गरिदिन आग्रह गर्नु भएको छ ।

You can share this post!