प्रचण्डज्यु तपाईलाई जस्तै गणतन्त्र ३ करोड जनतालाई उस्तै आयो त ?

लक्ष्मण चौलागाईं बिद्रोही

विधि, नीति र पद्दती नभएको सिंहदरबार होस नभएको मान्छे जस्तो हो कि होइन ? जनताको पक्षमा बोलम नेता सुध्रन सक्छन् । यी नेताको मात्रै गुणगान गाउनाले जनता भुले यी नेतृत्वले अनि बेला बेला बक्न थाले प्रचण्डजीले मेरा दस लाख कार्यकर्ता ! प्रचण्ड कमरेड तपाईं ३ करोड जनताको प्रचण्ड हो कि चाकरी र कार्यकर्ताको ? तपाईंले बोलेको भिडियो एक् से एक युट्युबमा सेभ छन् कमरेड ! तपाईले के भन्नुभएन ? – म नेकपा एकता केन्द्र मसालको महामन्त्री भएं,जनयुद्धमा जनमुक्ती सेनाको सर्वोच्च कमान्डर भएं, म नेकपा माओवादीको अध्यक्ष भएं, म नेकपाको दोश्रो अध्यक्ष भएं, फेरि म माओवादी केन्द्रको अध्यक्ष भएं ।

होइन कमरेड तपाईले भन्नुपर्ने यो थियो …. १. म ३ करोड नेपालीको नेता २. म नेपाली जनताको महामन्त्री ३. म नेपाली जनताका छोराछोरीको बलिदानले जनताको अध्यक्ष भएं भनेर । तर तपाईलाई युगपुरुष बनाइदिनेहरुले युद्दको बलिदानको मर्म बिर्साइदिए। सहिदकी आमालाई र बाबालाई चुनावी सभामा ६० रुपैयाँको खादा ओढाएर एकैछिन सम्मान गरे जस्तो गरेर तिनै छोराछोरी ढलेको शोकको सम्झना गराउने बाहेक के काम गर्नुभयो ? हिजो जनयुद्धमा दलित बर्गलाई प्रयोग गरेर आज किन संविधानमा दलित लेख्नुभयो ? तपाईं प्रचण्डलाई आएको जस्तै गणतन्त्र तपाईंको देशका जनताको गाउँ वस्तीको झुपडीमा उस्तै आयो कि फरक आयो कमरेड ? शासक सुखी र खुसी त हिजो राजतन्त्रमा पनि थिए नि ?

जनताले रगतपसिनाको कर तिरेपछी जनताका छोराछोरी नि:शुल्क शिक्षा पाउनुपर्थ्यो, जनताका अमूल्य युवा उर्जारुपि सन्तानले नेपालमा नै रोजगार पाउनुपर्थ्यो, बिमार जनताले नेपालका महंगा अस्पतालमा नि:शुल्क स्वास्थ्योपचार पाउनुपर्नेमा त्यो बजेट किन तपाईंहरुको महलको सेवासुविधा र मोजमस्तीमा गायब भयो कमरेड प्रचण्डज्यु ? भलै राजनितीमा आरोप प्रत्यारोप जस्तो पनि चल्छ । कमरेड युगपुरुष तपाईंले १३/१४ वर्ष अघि केपी भारतीय राजावादी दलाल हो भनेर भन्नुभयो । २ वर्ष अघि केपी मेरा सहयोद्दा भन्नुभयो । अनि गोकुल बास्कोटाको घरमा विप्लवका कार्यकर्ताले पटाका पड्काउदा बिज्ञप्तिनै निकाल्नुभयो, आतंककारी भन्नुभयो विप्लवलाई र सहयोद्दा बनाउनुभयो बास्कोटालाई !

अनि ९ महिना अघि केपी नेपाली कम्युनिस्ट इतिहासको कलंक भन्नुभयो । जब सत्ता लिप्सामा केपी नेतृत्वको पार्टीसँग एकता गर्नुभयो त्यतिबेला सबै राम्रो भन्नुभयो । जब केपीले पालो दिएनन् अनि प्रचण्ड बेहोसी जस्तो ३ वटा जिब्रो फड्कार्दै हिड्नुभयो । तपाईका कार्यकर्ताले धेरै तपाईंको चाकरी गर्दै झुठा अफवाह फैलाउदै गर्दा तपाई नतमस्तक भएर बस्नुभयो । तिनै अफवाह, झुठ र चाकरीवाजका कारण तपाई पनि बहुरुपी बन्नुभयो । तपाईले युद्दको मर्म भुल्दै जानुको पराकाष्ठा देश र जनताले धोखा पाए । गणतन्त्रमा तपाईं प्रचण्ड मोटाउदा जनता दुब्लाए । हिजो तपाईं प्रचण्ड दुई चोटि प्रधानमन्त्री बन्दा तपाईका आफन्त र आसेपासेलाई खुसी बनाउनुभयो तर ती सहिद परिवारलाई कुनै राहत दिनुभएन ।

यो ज्युदो इतिहासको तीतो सत्य नस्विकार्ने खेमा आजको मितिमा तपाईंका चाकर र अन्धभक्त कार्यकर्ता बने । आज केपीको स्थानमा तपाई प्रधानमन्त्री हुनुहुन्थ्यो भने ती चाकरीले जे जे काम गरे पनि ढाकछोप गर्दै गुणगान मात्र गाउथे भने केपीले तपाईंको घेराबन्दी र तपाईंको कार्यकर्ताको गाली मात्रै पाए,सुझाव र खबरदारी पाउदै पाएनन् । के कुर्सीको लडाई नै प्रधान हो त ? देश बनाउने कुरै भएन तपाईंको मात्रै पार्टी बनाउदै हिड्दा तपाईंको चोला फाट्न लागिसक्यो भने तपाईंको कारण जनता दुखित हुन पुगे । जनता गणतन्त्रमा व्यवस्थाको मालिक हुन्छन् भने तपाईं जतिकै खुसी जनता छन् त ? जनताका छोराछोरीले लडेर ल्याएको गणतन्त्रमा तपाईं कसैलाई राजावादी र कसैलाई प्रतिपक्षी भन्दै अनेक आरोप लगाएर सारा नेपालीलाई समान व्यावहार नगर्ने पार्टीको नेता मात्रै बन्नुले ती०६२/६३ सालको जन आन्दोलनमा उत्रेका जनताकै अपमान गर्नुभयो । अब भन्नुस प्रचण्ड कमरेड तपाईले देशलाई कता लादै हुनुहुन्छ ?

You can share this post!