आभाष चौलागाईं प्रसन्न
हामी त हिजो अनाहकमा लडेछौं र लडाइएछौं भन्ने भान पर्न लागिसकेको अवस्था छ । इमानदार शासक बिना सुशासन असम्भव छ र सुशासनको लागि जनप्रेमी अभियन्ता बिना असम्भव रहेछ यस्तै महशुस बढन थालेको छ । हिजो जनताको घर घरमा गएर उनिहरुको गाँस कटाएर हामीलाई जनताले शाही सत्तासँग लड्न पुर्याइदिएको बल र ताकत आज हाम्रै लागि पछुतो लाग्ने विडम्बना बन्यो अनि शासक जन उत्तरदायी नभएको महशुस भयो ।
यो सबै हुनुको बिम्ब सेवाभोगी र निजि स्वार्थको स्वार्थ चरम भएर भएको हो भन्ने अनुभूति बढिरहदा दुईचार आक्रोश पोख्नु मन लाग्यो । अब त लेख्न पनि मन नलाग्ने भैसकेको छ कारण योगदान र बलिदानको डोब मेटाउनेहरुको पछि हामीलाई कुदाएको रहेछ विगतले र वर्तमानले असाध्यै चिढाउन थालेको छ हामीलाई ! कठोर यातना, डरलाग्दा बलिभेदी चढ्दा हाम्रो उमेर एउटा प्रहरी र सेनासँग लड्ने उमेर थिएन र पनि हामी जनमुक्ती सेना जनताको सेना भएर लड्यौं, थुनियौं, कुटियौं, हाम्रा औलामा पिनहरु गाडिए, कठोर यातनाका भैरवनाथ गणहरु जब सम्झन्छु एक रातमा हाम्रो मृत्यु घोषित भएको थियो त्यो रात नै किन मारिएनौं हामी ?
आज यस्ता पिडाहरु पनि बढ्न लागेका छन् । हामी त जनताका सेना हौं तर आज पनि प्रचण्डका सेना भन्दै केही साथीहरु कुदिरहेका छन् जनताको आवाज बोलिरहेका छैनन अनि हामी प्रचण्डमुक्ती सेना पो बनेछौं भन्ने भावहरु अन्तश्करण भरी पैदा हुदा मानस्पटल विक्षिप्त भएको छ । कम्युनिस्ट शक्तिको राज्यतन्त्रमा पनि विभिन्न खाले लडाईले जनताको पक्षमा लडिरहेको छैन प्रष्ट देखिएको छ तर यहाँ अवसरवादीहरु हामीलाई क्रान्ती र गणतन्त्रको शिक्षा दिन थालेका छन् कि हामी गणतन्त्र आएसी जन्मेका शिशु झैं गरि ! वास्तवमा उनीहरुले हामीलाई पढाउनु पनि स्वभाविक हो कारण उनिहरुले केही लगानी गरेनन् ।
मृत्यु हत्केलामा बोकेर हिड्दा हाम्रो मृत्युको कामना गर्नेहरु आज हाम्रा शासक बनेका छन् । सोच्छु एकान्तमा यो बनाइदिएको जनताले हो ? होइन । यो अवसर प्रदान गरेका उनै जनमुक्ती सेनाका पूर्व सर्वोच्च कमान्डर प्रचण्डले हो । यसैको खिलाप आज उनी योद्धाका मर्म र योद्धाका मततिर भन्दा जनताका गुनासातिर भन्दा प्रत्येक्ष, अप्रत्यक्ष नेपाललाई थोरै रकममा विदेशीको राज चलाउन र पिच सडकमा फेरि पनि गरिब जनताको रगत बहाउन एमसिसी पास कसरी गर्ने ध्याउन्नमा छन् । हामी स्वदेशमा बसेका विदेशी जस्तो हुन विवश अवस्था बेइमान र गद्दार राजनितीक प्रणालीकै पराकाष्ठा हो ।