प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबीच भेटबार्ता

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्री केपी शर्मा ओलीविच भेटबार्ता भएको छ । गत फागुन २१ गते सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिलाई परिणाममुखी बनाउने तयारीस्वरूप प्रधानमन्त्री ओलीसंग महासचिव विप्लवविच भेटबार्ता भएको बताइएको छ । आइतबार भएको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीका साथमा सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट महासचिव विप्लवका साथमा पार्टी प्रवक्ता एवम् वार्ताटोलीका संयोजक प्रकाण्ड सहभागी रहेको जानकारी नेकपा स्रोतले दिएको छ ।

सरकार र नेकपाका शीर्ष नेताबीच भएको वार्तामा राजनीतिक पार्टीका बन्दी नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेजीका विषयमा गम्भीर छलफल भएको जनाइएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री ओलीले थुनामा रहेका सबै नेता–कार्यकर्ता यथाशीघ्र छुट्दै जाने विश्वास दिलाएका थिए । त्यस्तै नेकपाका नेताहरूले आफ्नो पार्टीका सम्पूर्ण बन्दी नेता–कार्यकर्ता छिट्टै रिहा हुने विश्वास व्यक्त गरेका छन् । छलफलका क्रममा नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई देशको राजनीतिक समस्या अत्यास लाग्ने गरी जटिल स्थितिमा पुगेको र यो अवस्थालाई ध्यानमा राखेर अग्रगामी ढङ्गले समस्या समाधानका लागि अघि बढ्न सुझाव दिएका थिए ।

कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै महासचिव विप्लवले यसअघि ९ चैतमा पनि प्रधानमन्त्री ओलीलाई भेटेर गुनासो गरेका थिए । विप्लव नेकपाका १२३ जना नेता, कार्यकर्ता अझै देशभरका विभिन्न कारागारमा छन् । अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटिसकका छन् । विप्लव नेकपा र सरकारबीच २० फागुनमा नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव नेकपाका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

You can share this post!