प्रचण्डसँग गरेको सम्झाैता जस्तो नमान्नुस् हामी अलग प्रजाति हौं : विप्लव

काठमाडाै – हालैमात्र खुला राजनीतिमा आउनु भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति मान्न इन्कार गरेको बताउनु भएकाे छ । विगत एक सातादेखि राजधानी बाहिर रहेका विप्लवले आफूनिकट नेताहरूसँग ओलीले सहमति नमानेको भन्दै गुनासो पोख्नु भएको छ । नेता कार्यकर्ताहरूसँगको भेटमा विप्लवले खुला राजनीतिमा आउने पार्टीको कदम सही भएको र यसले वैज्ञानिक समाजवाद निर्माणका लागि खुला रूपमा बहस गर्ने वातावरण बनाएको तर,सम्झौता कार्यान्वयनमा ओलीले उदारता नदेखाएको भन्दै ब्रिफिङ गर्नु भएको थियाे ।

‘ओलीले सहमति मान्न इन्कार गरेको भन्दै महासचिव निराश हुनुहुन्छ,केही दिनअघि पश्चिमको एक जिल्लामा आयोजित कार्यकर्ता भेलामा उपस्थित एक केन्द्रीय सदस्यले बताए अनुसार ‘सम्झौता कार्यान्वयन गराउन उहाँले ओली र गृहमन्त्रीसँग निरन्तर छलफल पनि गर्नुभएको छ । ओलीले सम्झौता कार्यान्वयन नगरे झन् कठोर भएर अघि बढ्ने उहाँको विचार छ ।’

उहाँका अनुसार ओलीले सम्झौता कार्यान्वयन गर्न नमाने कुरा क्लियर रहेको चेतावनी दिनु भयो । ‘हाम्रो र सरकारसँग भएको सम्झौताप्रति हामी प्रतिबद्ध छौं, तर यदि सरकारले त्यसलाई सहज ढंगले कार्यान्वयन गर्दैन भने कुरा क्लियर छ । सरकारको ढिलासुस्ती देख्दा सम्झौता कार्यान्वयन नगर्ने ओलीको रवैया देखेर सशंकित बनाएकाे छ ।

पार्टीका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने वार्तामा सम्मिलित हुनुहुन्थ्यो भने सरकारका तर्फबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले वार्ता गरेका थिए । वार्तामा तीन बुँदे सम्झौता भएको थियो । पहिलो सबै समस्याको समाधान वार्तामार्फत गर्ने,दोस्रो जेलमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई रिहा गर्ने र तेस्रो नेपाल कम्युनिस्ट पार्टी माथि लगाइएको प्रतिबन्ध हटाउने ।

प्रतिबन्ध हटिसकेको छ । तर, जेलमा रहेका नेता तथा कार्यकर्ताको रिहाइमा धेरै प्रगति हुन सकेको छैन । हालसम्म पनि नेपाल कम्युनिस्ट पार्टीका १७० भन्दा बढी नेता-कार्यकर्ताहरु जेलमै हुनुहुन्छ । १० दिनअघि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित बालुवाटार पुगेर महासचिव विप्लवले ओलीलाई भेट्नु भएको थियाे । विप्लव र प्रकाण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग गरेको भेटवार्तामा सरकारसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

सहमति कार्यान्वयन कहाँ पुग्यो भनेर विप्लवले सोधेको प्रश्नमा ओलीले भनेका थिए – ‘न्याय, कानूनको विषय छ । मैले भन्नेबित्तिकै फ्याट्टै हुने कुरा होइन । धैर्य गर्नुस् न । ‘ओलीको यस्तो जवाफ सुनेका विप्लवले अर्को प्रश्न गरे – ‘प्रचण्डसँग गरेको सहमति जस्तो नमान्नुस् नि, हामी अलग प्रजाति हौं ।’ सरकार र विप्लवबीच सहमति भएको भनिए पनि अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पक्राउ पूर्जी जारी गर्न छोडेको छैन । भने प्रहरीले पनि गिरफ्तार गरिरहेको छ । गत चैत १३ गते ताप्लेजुङका जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’लाई प्रहरीले पक्राउ गर्यो ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले उनलाई बिहीबार राति पक्राउ गरेको थियो । त्यसयता नेपाल कम्युनिस्ट पार्टी ओलीले सहमति कार्यान्वयन गर्नेप्रति अझ बढी सशंकित बनेको हो । सरकारले २१ फागुनमा विप्लव नेतृत्वकोनेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । तर जेलमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता सबैको मुद्दा फिर्ता भएको छैन । अदालतले पक्राउ पुर्जी जारी गर्न छोडेको पनि छैन ।

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी वार्ता गर्न ओलीले निकै हतारो गरेका थिए । राष्ट्रिय विषय भएकाले ओलीले कांग्रेस र अन्य दलसँग परामर्श गर्नुपर्ने आवाज उठेको थियो तर त्यो सुनेनन् । “कानून र न्यायालयले गर्ने काम नै प्रभावित पार्ने गरी सबैलाई रिहा गर्ने सहमति भएको छ, यस्तो सहमति हतारमा गरिएको हो कि जस्तो लाग्छ, ओलीनिकट एक नेताले भने, “जे सुकै सहमति भएको भएपनि कानून र न्यायालय भन्दा माथि रहेर कार्यान्वयन हुन सक्दैन । मुद्दा फिर्ता लिने कुरा एउटा हो तर, अदालतले दोषी ठहर गरिसकेकालाई छोड्न सकिन्न ।”

You can share this post!