म्यानमारमा सेनाको गोलीबाट एकैदिन ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु

एजेन्सी – म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० भन्दा बढी प्रदर्शनकारीहरुको मृत्यु भएको छ । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेकाहरुमाथि सेनाले गोली प्रहार गर्दा ९१ जनाको ज्यान गएको हो ।

शनिबार सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको सेनाको यो कदमप्रति अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् ।

घटनास्थलमा रिपोर्टिङमा रहेका एक पत्रकारका अनुसार त्यहाँ प्रदर्शनकारीहरुमाथि प्रहरीले नै गोली चलाएको बताएको बीबीसीले खबर लेखेको छ । म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्यान गुमाइसकेका छन् ।

प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता बताएका छन । उनले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाएको बिबिसीले जनाएको छ ।

You can share this post!