पोखरा २८ माझठाना स्थित दुई झरनामा पर्यटन आवागमनमा रोक

पोखरा- विश्वव्यापी महामारिका रूपमा फैलिएको कोरोना भाइरसप्रति सजग बन्दै पोखरा महानगरपालिका–२८ माझठानास्थित दुई झरनामा पर्यटन आवागमनमा रोक लगाइएको छ ।

बन्दाबन्दी भएपनि यहाँका रोला र ढोडेनी झरनामा दिनानुदिन बढिरहेको पर्यटकको चापलाई दृष्टिगत गरी सम्भाव्य कोरोना जोखिमलाई मध्यनजर गर्दै आगामी साउन १५ गतेसम्मका लागि पर्यटक आउन रोक लगाइएको हो ।

रोलखोला, निलीरह पर्यटन पूर्वाधार विकास समितिको आयोजनामा जनप्रतिनिधिसहित झरनामा क्यानोनिङ सञ्चालन गर्दै आएको ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिसहितको बैठकले उक्त निर्णय गरेको हो ।

झरनामा क्यानोनिङ गर्ने, स्नान गर्ने र दृश्यावलोकन गरेर रमाउने पर्यटकको चाप दिन प्रतिदिन वृद्धि भएको छ । भौतिक दूरी कायम नगर्नु, मास्कलगायतका सुरक्षाका सामग्री प्रयोगमा ध्यान नदिँदा रोग फैलिने खतरा बढेपछि केही समयका लागि बन्द गरिएको पर्यटन पूर्वाधार विकास समितिका अध्यक्ष भोजराज भुर्तेलले जानकारी दिए।

“बिहीवार परेको अविरल वर्षासँगै गएको पहिरोले झरनासम्म जाने बाटोसहित निवाट चन्नीखोला सिँचाइ कुलोसमेत बगाएको छ” उनले भने,“ पहिरोले बगाएको नहर मर्मत गरी सिँचाइको व्यवस्था र बाटो निर्माणका लागि पनि झरनामा आवागमन बन्द गरिएको हो ।”

You can share this post!