विप्लवलाई प्रचण्डको प्रस्तावः शास्त्रार्थ बसौँ, जित्नु भयो भने म पछि लाग्छु

काठमाडाै– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवसँग शास्त्रार्थमा बस्न आफू तयार भएको बताएका छन् ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लवसँग शास्त्रार्थ गर्न आफू तयार भएको बताएका छन् ।

विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्माले प्रचण्डलाई शास्त्रास्र्थ गर्न आग्रह गरेका थिए । उनले शास्त्रार्थ गर्दा जसले जित्छ त्यसलाई मान्न प्रस्ताव गरेका थिए । प्रचण्डले विप्लवले संसदका लागि मात्रै लड्यो भन्ने तर्क गरेको भन्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, उत्पीडित वर्गको अधिकारलाई निरंकुश बुटले कुल्चन खाज्नेविरुद्धको विद्रोह रहेको बताए ।

‘अहिले पनि संसदका लागि मात्रै लड्यो भन्ने तर्क तपाईंहरुले गर्नुभयो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, उत्पीडित वर्गको जेजति अधिकार प्राप्त भएको छ त्यसलाई निरंकुश बुटले कुल्चन खाज्नेविरुद्धको विद्रोहका रुपमा किन मान्नुहुन्न ?’, प्रचण्डले भने, ‘म शास्त्रार्थका लागि तयार छु, यत्ति भन्न चाहन्छु अहिले । कति दिन बस्नु पर्ने हो, इमान्दारिकताका साथ बसौँ । तपाईंहरुलाई लाग्या होला सबै मैले गुमाइदियो भन्ने । तपाईंहरुले जित्नु भयो भने म पछि लाग्छु ।’

You can share this post!