मनकामना केवलकार दसैंमा पनि संचालनमा नआउने, ‘मनकामना ग्रीन जोनमा छ, त्यसैले पर सार्‍यौं ‘

असोज २७, काठमाडौं। मनकामना केवलकार दसैंमा पनि संचालनमा नआउने भएको छ। कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले दसैंमा पनि केवलकार संचालनमा नल्याउने निर्णय चितवन कोइले गरेको हो।

‘हामीले स्थानीयसँग छलफल गर्दा केही दिनका लागि मात्रै केवलकार खोल्नु उपयुक्त नहुने सुझाब पायौं। विगतदेखिनै स्थानीयसँग छलफल गरेर महत्वपूर्ण निर्णय गर्दै आएका छौं,’ कम्पनीका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बिजमाण्डूसँग भने, ‘कोरोना संक्रमण भयावह रुपमा फैलिएको छ। ग्रीन जोनमा रहेको मनकामना क्षेत्रलाई सुरक्षित राख्नु हाम्रो पनि दायित्व भएकाले केवलकार संचालन नगर्ने निर्णयमा पुग्यौं।’ मनकामना क्षेत्रमा कोरोनाबाट अहिलेसम्म कोही पनि संक्रमित भएका छैनन्।

उनका अनुसार स्थानीयले सधै केवलकार बन्द गरेर नहुने तर दसैं अघि खोल्नु घातक हुने निष्कर्ष सुनाएका थिए। ‘कोरोनाबाट भागेर होइन जोगिएर व्यापार व्यवसाय संचालन गर्नुपर्छ भन्ने स्थानीयको भनाई छ। त्यही आधारमा कोरोना संक्रमण हेरेर तिहारपछि केबलकार संचालन गर्ने मनस्थितीमा हामी पुगेका छौं’, श्रेष्ठले भने।

 केवलकार संचालनका लागि कम्पनीले सबै तयारी पूरा गरेको थियो। केवलकारमा प्रयोग हुने सबै उपकरणको मर्मत सम्भार गरिसकेको थियो भने नगदरहित कारोबार सुरु गर्नका लागि इ-सेवा र फोन पे मार्फत कारोबार गर्ने सम्झौता गरिसकेको थियो। कम्पनीले यात्रु तथा आफ्नो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुल ढोका देखि नै ‘हेल्थ स्क्रिनिङ’ को तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने तयारी गरेको थियो। कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार गरेको छ।

यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ। कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकेको छ।

Source: bizmandu.com

You can share this post!