जोगिने भयो कर्णालीका मुख्यमन्त्री शाहीको कुर्सी, माधव नेपाल पक्षको साथ

असोज २७, काठमाण्डौ। बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूसँग सहमति भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ। 

आइतबार नेकपाका १८ जना सांसदले पार्टी संसदीय दलका नेता रहेका शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनी नेतृत्वको सरकार ढल्ने आकलन गरिएको थियो। 

दुई दिनसम्म केन्द्र र प्रदेशमा भएका विभिन्न प्रयासपछि मंगलबार नेता नेपाल पक्षका ८ जना सांसद हस्ताक्षर फिर्ता लिन सहमत भएका हुन्। 

मुख्यमन्त्री शाहीनिकट स्रोतका अनुसार नेपाल पक्षीय सांसदसँग मन्त्रीमण्डल पुनर्गठनको सहमति भएको छ। 

‘एक-दुई जना नयाँ मन्त्री बनाउने वा पुरै सेट नै फेर्नेबारे पछि कुरा हुन्छ,’  स्रोतले भन्यो,’उहाँहरू सहमत भएपछि संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावको सन्दर्भ सकियो।’

सहमति भएसँगै संसदीय दलका नेता शाहीले नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन्।

कुर्मराजले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ जनामध्ये एक हुन्। 

नेपाल पक्षधरसँगै पूर्वमाओवादीका तीन सांसदलाई पनि हस्ताक्षर फिर्ता गराउन छलफल भइरहेको स्रोतले बतायो। 
नेपाल पक्षले मुख्यमन्त्री शाहीसँग सहमति गरेपछि असन्तुष्ट पक्षले आज १ बजेका लागि बोलाएको संसदीय दलको बैठक बस्न सकेको छैन। 

दिउँसो २ बजेसम्म बैठक नबसे पनि बस्ने तयारी भइरहेको तत्कालीन प्रमुख सचेतक गुलावजंग शाहले बताए। 

‘नेपाली टाइमअनुसार केही ढिला भइरहेको छ, बैठक बस्छ,’ उनले भने। 

आफू पक्षका सांसदहरूलाई नेता नेपालले अविश्वासको प्रस्ताव अघि नढाउन निर्देशन दिएका थिए। 

‘हाम्रा साथीहरूले यामलाल कँडेललाई साथ दिन भनेर जानुभएको थिएन, मुख्यमन्त्रीले आफूहरूलाई सम्मानजनक व्यवहार नगरेकाले मिसिनुभएको थियो,’ नेता नेपालनिकट एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने,’मुख्यमन्त्री त्यो कुरामा सहमत भएपछि उहाँहरू फिर्ता हुनु भएको हो। अब कर्णालीको  समस्या तत्काललाई समाधान भएको छ।’

पोहोर साल कर्णालीका भौतिक मन्त्री खड्कबहादुर खत्री बैंकिङ कसुरको आरोप लागेपछि पदमुक्त भएका थिए। उनको ठाउँमा आफ्नो पक्षका सांसदले मन्त्री पाउनु पर्ने नेपाल पक्षको माग थियो तर मुख्यमन्त्री शाहीले १४ महिनासम्म उक्त पद आफैंसँग राखे। 

मुख्यमन्त्रीको व्यवहारबाट चिढिएका नेपाल पक्षका सांसदहरूले त्यही भएर आइतबार  मुख्यमन्त्रीका दाबेदार यामलाल कँडेलको नेतृत्वमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका हुन्। 

सेतोपाटीबाट

You can share this post!