आजका युवाको राजनिती रहर होइन बाध्यता

सानु बस्याल


युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठुलो पुँजी हो । युवावर्गको विशिष्ट श्रेणीलाई राष्ट्र निर्माणमा समेटनु आजको आवश्यकता हो । तर आजका युवामासमा छाप बसिसकेको छ कि राजनिती एक व्यपार हो । यो सरासर आफ्नो पेट अनि नाता कुटुम्बलाई पाल्ने माध्यम हो । यो कुुरा राजनैतिक विश्लेषकले मात्रै होइन एउटा सानो बच्चाले पनि बुझिसकेको छ ।

एउटा युवा मध्यम बर्गीय परिवारमा जन्मिएर घरबाट सयौँ किलोमिटर टाढाको राजधानी शहरमा परिवारबाट अलग्गिएर बस्छ उच्च शिक्षाको लागि । गाउँमा छोरा पढाउन साहुसँग लिएको ऋण झल्यास्स सम्झिदा पढाई नै जिवन ठानी रहेको हुन्छ । गाउँ समाजमा देखेको राजनैतिक प्रवृति, पार्टी–पार्टी बिचको आन्तरिक द्धन्द्धले उसलाई विद्यार्थि राजनितीमा चासो लाग्दैन । न परिवारले कुनै पार्टीको झण्डा बोकेको देख्छ । आजको युवा पुस्तामा राजनिती प्रति यतिसम्म नराम्रो छाप बस्नु देशको लागि राम्रो कुरा होइन ।

विकासोन्मुख पिछडिएको गाउँको सरकारी विद्यालयमा कार्यालय सहयोगीले पढाएर उच्च अंकमा शैक्षिक डिग्री हासिँल गर्नु उसको लागि मात्रै गौरव होइन त्यो गाउँ समाजको लागि पनि आशाको केन्द्रविन्दु हो । उमेरसँगै जिम्मेवारी बढ्दै जाँदा प्रत्यृेक गल्ली–गल्लीमा क्लिएर ब्याग बोकेर जागिरको खोजीमा भौतारिनु आजका युवाको रहर होइन । आफ्नो योग्यता र क्षमता हुँदाहुँदै पनि लिखितमा विशिष्ट अंक ल्याउँदा मौखिक अन्तरवार्तामा सोधिन्छ, कसको मान्छे हो तिमी ? हर युवायुवतीमा निराशा छाउने पहिलो प्रश्नको जवाफ दिन नपाउँदै त्यसो भए कति दिन सक्छौ त तिमि ? भन्ने प्रश्न तेर्सिन्छ ।

अनि नाजवाफ भएर मौन बस्नु बाहेक केहि विकल्प रहँदैन । अनि आफैलाई प्रश्न गर्छन हरेक युवायुवती के अव हामी जस्ता हजारौँ युवायुवतीहरुले प्रमाणपत्र सिरानीमा राख्नु बाहेक अन्य विकल्प छैन ? के हामीले पनि प्रशान्त झैँ प्रदेशमै भविष्य खोज्नु पर्ने हो ? यस्तै तमाम समस्याका कारण लाखौँ नेपाली उर्जाशिल जनशक्ति विदेशी भुमिमा श्रम बेच्न विवश छन् । अथाह साधन स्रोतको भण्डार हाम्रो देश नेपालको लागि यो राम्रो संकेत होइन ।

वैदेशिक रोजगारीम गएका युवायुवतीहरुको रगत पसिनाबाट प्राप्त हुने आर्थिक लाभांशको आधारमा समग्र मुलुकको विकास गर्न सकिन्छ भन्ने आत्मरति अनि गलत मनोविज्ञानबाट अब छिट्टै बदल्नु पर्छ । अन्यथा भावी दिनमा गम्भिर दुर्घटना निम्तिने छ । जागिरकै लागि गल्लि–गल्लिमा भौतारिदा सम्झना आउँछ, कलेजमै एउटा पार्टी समाएको भए यो दिन त देख्नु पर्ने थिएन ? सायद यसरी भौतारिनु पदैन्थ्योहोला ? गाउँमा साहुको ब्याज बढ्दैन थियो होला ? आमाले बर्षौँदेखिको फाटेको चोली फेर्थिन होला ।

पल्लाघरे श्यामेको जस्तै आगन अगाडी कार हुन्थ्यो होला । आजका युवा पुस्ताले राजनीतिमा यस्तो भ्रम कहिले सम्म पाल्नु पर्छ ? उ जस्ता हजारौँ जनशक्ति छन् जसको कुनै मुल्य, कदर हुँदैन । अनि शैक्षिक प्रमाणपत्र माटोमा मिलाएर हर नेपाली युवायुवती वैदेशिक मार्ग रोज्न बाध्य छन् । प्रत्येक समस्या र विवशताले विग्रेको राजनीतिक अवस्था सुधार्न पनि पुनः राजनीतिमै आउनु पर्ने बेला भएको छ । त्यसैले त युवा जमातमा स्वविवेक भन्ने नै छैन ।

पुरानो पुस्ताबाट राजनीतिक बागडोर खोसेर आफ्नो हातमा लिन सक्ने आँट गर्नुपर्छ आजको युवा पुस्ताले । अब नेतृत्वको देवत्वकरण गरेरै बस्ने अवस्था छैन । अब राजनीति फोहोरी खेल हो भन्दै राजनीतिबाट पन्छिने होइन फोहोर पोखरी मै पसेर सफा गरेर निस्कने आँट गर्नु पर्छ । निम्न वर्गीय र मध्यम वर्गलाई पिडा र अन्याय कहिले सम्म ? तसर्थ युवा शक्तिले निराशामा होइन आशामा बाँच्नुपर्छ । विगतमा जे जति भयो, भयो, अब विगतदेखि पश्चाताप मात्रै होइन भविष्यको चिन्तन पनि गर्नुपर्छ । नेतृत्वको केवल जयकार मात्र नभइ स्वविवेकको उपयोग पनि गर्नु पर्छ ।

You can share this post!