सरस्वती चौलागाईं
कथा
माघ कृष्ण औंशीको दिन थियो । त्यसैले होला, अघिल्ला रातहरु भन्दा पनि निकै अँध्यारो र स्तब्ध थियो त्यो रात । तर त्यो रात आफैंमा खुसी थियो । किनकी आजको पन्ध्र दिनपछि ऊ एउटा गहुँगोरो छोरो जन्माउन सफल हुन्थ्यो । अनि म धर्तीको एउटा सानो अंशमा बसेर १५ दिन पछि देखिने चन्द्रमा हेर्न आतुर थिएँ । मलाई औँशीको रातभन्दा पुर्णिामाको रात बढी मन पर्छ । किनकि त्यो रात चन्द्रमाले आफ्नाे तीव्र प्रकाशलाई सकेसम्म फिँजाएर मन्द बनाउँदै पुरै रात उज्यालो र शितलता प्रदान गर्छ ।
त्यति मात्र होइन । चन्द्रमा त्यो विशाल आकाशमा आफ्नै स्वच्छन्दता बोकेर मुस्कुराउँछ । म पनि शुक्ल पक्षको चन्द्रमा झैँ बढिरहेको थिएँ । मैले आफ्नो सोह्र वसन्त पार गरिसकेको थिएँ । अबको पाँच दिनमा म सत्रौँ वसन्त पार गरेर आठारौँ वसन्तमा प्रवेश गर्दै थिएँ । म माघ शुक्ल पञ्चमीमा जन्मेको रे । त्यसैले मामुले मेरो नाम सरस्वती राखिदिनु भएछ । जुन दिन विद्याकि देवि सरस्वतीको पूजा गरिन्छ ।
त्यो सुनसान रातमा म बाहिर बसेर कहिले विगत सम्झिन्थेँ, कहिले भबिस्य त कहिले वर्तमान नियाल्दैँ थिएँ । यस्तै के सोच्दै थिएँ । भित्रबाट मलिन आवाज आयो । दस बजिसक्यो छोरी सुत्न आउ न । अरु दिन यसो भन्दा रिसाएर बेडमा पल्टिने म । आज मम्मी प्रती कृतज्ञ भाव झल्काउदै हवस् मम्मी भन्दै बिस्तारामा पल्टिएँ । निदाउने कोसिस गरेँ तर वैचारिक द्वन्द्वको अगाडि निन्द्रा देविले पनि मलाई आफ्नु काखमा पुर्याउन सकिनन् ।
भनिन्छ नि, संसारको सबैभन्दा खतरनाक नदि हो भावना । जहाँ हरकोही डुब्ने गर्छ ।´ म पनि यस डुबाइबाट उत्रिन सकिनँ । मनमा अनेक तरहका कुराहरु खेल्दै थिए । म भावनामा यत्ती डुबे कि लाग्यो, मैले भावनाको टन्नै झोल घुड्की लगाएँ र अनायासै निसास्सिएँ । नजिकैको गिलासबाट पानी पिएँ र कोल्टे फेरेँ । एकैछिनमा मेरा आँखाहरु लोलाए र निन्द्रादेविले शरण दिइन् ।
रातको तेस्रो प्रहर थियो होला सायद । लगभग बिहान हुन लागिसकेको थियो कि ? मैले आँखा अगाडि कोहि देखेझैँ लाग्यो । यो एउटा भ्रम भनुँ या सपना मैले ठम्याउन सकिनँ । जन्मअनुसार मेरो राशी मिन । त्यो मानिसले मलाई मिनाक्षी भन्दै बोलायो । मनले भन्यो, ओए ! तेरा ती माछाको जास्ता आँखाहरु खोल न, जसले तलाईं मिनाक्षी भन्दै बोलायो उसलाई त चिन् को हो ऊ ? तर निन्द्राको अगाडि इन्द्रकै बावु आए पनि केही लागेन ।
मेरा आँखाहरु पटक्कै उघ्रीएनन् । उसले फेरि सम्बोधन गर्यो र भन्यो, अँ ! हिजो तिमिलाई बजारमा देखेको थिएँ । तिमी त बोल्ड एण्ड ब्युटिफुल रहिछौ । यस पटक भने मलाई मान्छे चिनुँ र दोहोरो कुरा गरुँ झैँ लाग्यो । म झल्यास्स व्युझिएँ । मेरा आँखा अगाडि कोहि थिएनन् । न बाबा न मामु । अनि कसैको आवाज सुनिनँ । बल्ल थाहा पाएँ, म त सपनाको संसारमा पो रहेछु । बस् आँखा अगाडि उही थियो । जो अथाह प्रेम बोकेर झ्यालको पर्दा छिचोल्दै मेरो कोठामा प्रवेश गर्दै थियो र भन्दै थियो, म यत्रो बाटो हिडिसकेँ ।
तँ किन सुतिरहिछेस् ? आज घामसँग पनि छुट्टै किसिमको लाज लाग्यो । म हतारिदैँ नित्यकर्म सकाएर कलेजतर्फ लागेँ । दिउँसो पढाई सकेर म घर जाने बस कुरिरहेको थिएँ । अचानक बिहानको तिमी त बोल्ड एण्ड ब्युटिफुल देखिन्छौ भन्ने अज्ञात वाक्य याद आयो । सायद बोल्ड म अस्तित्व ब्युझिँए पछि भएँ अनि ब्युटिफुल बाल्यकाल निदाएपछी । नत्र त पहिले सबैले तिमी कति क्युट छौ भन्थे । करिब आधा घण्टाको कुराइपछी मेरा आँखा मभन्दा बायाँतर्फ ३० मिटर जति दुरीमा कसैलाई कुरिरहेझैँ देखिने युवकमाथी पर्यो । उसका आँखा पनि ममाथी परे । वास्तवमै हामी एक अर्काको लागि अपरिचित थियौँ ।
तर सपनीमा देखिएको युवक र ऊ एउटै थियो । त्यसैले मेरो मुख नबोले पनि मुस्कान बोलिहाल्यो । उसले मुस्कानको प्रत्युत्तरमा मुस्कान नै दियो । यत्तिकैमा स्वस्थकर डिजेल खान नपाएर रोगाए जस्तो बस घ्यारघ्यार गर्दै मेरो नजिक आइपुग्यो र मलाई घरसम्म छोडिदियो । चार दिनपछि मामु र म बिहान सरस्वतीको पुजा सकेर जन्मदिन मनाउने क्रममा पशुपति पुग्यौँ । सौभाग्यबस् आज श्रीपञ्चमी मात्र नभइ शनिबार पनि परेकाले पशुपतिमा भिड थियो । पूजा गर्नको लागि भक्तजनहरु लाइन लागेर बसेका थिए । लाइन लामो थियो अनि मामु र म अन्तिममा । तर हामीभन्दा पछाडी आउनेहरुको पनि कमि थिएन ।
म मामुको पछाडी बसेँ । मभन्दा पछाडी कोहि अपरिचित, लामो समयको पर्खाइपछी पूजा गर्ने अवसर मिल्यो । त्यसैसाथ मेरो दायाँ साइडबाट कोहि अबिर अक्षता चढाउँदै थियो । पूजा सकेर मैले यताउती हेरेँ । अघिदेखि अपरिचितझैँ लाग्ने मान्छे त उही रहेछ । जसलाई मैले पहिलो पटक सपनामा, दोस्रोपटक बस कुर्दा र आज तेस्रो पटक सामुन्ने देख्दै छु । अनायासै उसले आँखा झुकायो र थोरै लजायो । ऊ केही बोल्न खोज्दै थियो । यत्तिकैमा मामुले घर जाने कुरा गर्नु भयो । मैले उहाँको कुरा नकार्न सकिन । म सरासर घरतर्फ लागेँ । अलि पर पुगेर फर्केर हेरेँ । ऊ अघि जसरी नै मलाई हेरिरहेको रहेछ । मौनता मै अल्झिएको एक सम्बन्ध न बोल्ने आँट न बोलाउने ।