नेपालमा आइपुग्यो रेल

काठमाडौं – भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म सञ्चालन हुने रेल नेपाली झण्डा रंगमा तयार भएर आइपुगेको छ । नेपालले किनेको रेल बिहीबार साँझ जयनगर आइपुगेको जानकारी रेल विभागका महानिर्देशक बलराम मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।

जयनगर स्टेसनमा नेपालको रेल हेर्न भारतीयहरु झुम्मिएको तस्विर पनि मिश्रले फेसबुकमा राखेका छन् । मिश्रका अनुसार तीन हप्ता पटना नजिकैको हाजिपुर रेल स्टेशनमा राखिएको नेपालको रेल भारतमा सञ्चालन हुने अन्य रेल भन्दा आकर्षक र सुविधायुक्त छ । रेल शुक्रबार जनकपुर आइपुग्ने जानकारी पनि दिएका छन् ।

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि नेपालले किनेको रेलको सेट आइपुगेको छ । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

रेल जनकपुर पुग्न लागेको भए पनि अहिलेसम्म रेल सञ्चालनसम्बन्धी कानुन बनेको छैन । यससम्बन्धी विधेयक संसद्मा अड्किएको छ । संसद् नभएकाले अध्यादेशमार्फत कानुन ल्याएर रेल चलाउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

You can share this post!