बैतडीमा सशस्त्रले गर्याे नयाँ बीओपी स्थापना

धनगढी । भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिका १ स्थित कुस्मौत घाटमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको छ। 

सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीति अनुसार बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए। योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन्।  

पञ्चेश्वर गाउँपालिकाको रोलघाट र सीमा नाका झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी यसअघि नै स्थापना भइसकेका छन्। कुस्मौत घाटमा बिहीबार बीओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनीकरण लगायतका कुरामा सहयोग पुग्ने बताए।

You can share this post!