पत्रकार साहको हत्या अभियुक्त १३ वर्षपछि पक्राउ

काठमाडाै । एभिन्यूजकर्मी वीरेन्द्र साह हत्याको अभियुक्त हरेराम पटेललाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पटेल पक्राउको पुष्टि गरेका छन् । उनी हत्याको घटना भएको १३ वर्षपछि बाराको कोल्हवीबाट पक्राउ परेका हुन् । पत्रकार साहको २०६४ असोज १८ गते तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए ।

बाराको महागढीमाई नगरपालिका–२ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए । प्रहरी उपरीक्षक पंगेनीका अनुसार हाल उनी मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रहेका छन् । सात महिनाअघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए । मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार छन् । सात महिनाको फरकमा पटेल र फौजदार पक्राउ परेका हुन् । पत्रकार साह एभिन्यूज टेलिभिजनका बारा सम्वाददाता थिए ।।

You can share this post!