असोज २ बाट ‘डान्सिङ विथ द स्टार नेपाल’

काठमाडौं । डान्सिङ रियालिटी सो ‘डान्सिङ विथ द स्टार’ को नेपाली संस्करण ‘डान्सिङ विथ द स्टार नेपाल’को प्रसारण असोज २ गतेबाट सुरु हुने भएको छ । लकडाउन अगाडि घोषणा भई महामारीका कारण प्रसारण हुन नसकेको ‘डान्सिङ विथ द स्टार नेपाल’ कोरोना कहरकै बीचमा मनोरञ्जन प्रदान गर्ने हेतुले सुरु हुन लागेको हो ।

‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने– ‘सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं ।’ २६ श्रृङखला हुने यो कार्यक्रम १२ जना स्टार कलाकारले एकएक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धा गर्नेछन् । हरेक साता हुने भोटिङबाट उनीहरुको एलिमिनेसन हुनेछ ।

लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा आफुले पनि त्यसैलाई पछ्याउँदै कार्यक्रम प्रसारण गर्न लागेको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल बताए । नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी सुटिङ गरिने कँडेलको भनाई रहेको छ । 

डान्सिङ विथ द स्टारको पहिलो सिजनमा लोकगायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी चर्चित नायिका पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र लोकप्रिय बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् । 

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । प्रतियोगिताका बिजेताले कूल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।
 

source : ratopati.com

You can share this post!