नेपालका कम्युनिस्टहरूले बुझ्नुपर्ने कुरा

– विप्लव

नेपालमा कम्युनिस्ट प्रभाव बलियो भएको देखेर विश्वभरिका पुँजीवादीहरू हैरान छन् । उनीहरू यो प्रभावलाई कमजोर बनाउन र सकेसम्म समाप्त नै पार्न अनेकौँ राजनीतिक, आर्थिक, सांस्कृतिक चालहरू चलिरहेका छन् । नामधारी कम्युनिस्ट केपी–प्रचण्डहरूका गलत आर्थिक एवम् राजनीतिक क्रियाकलापले पुँजीवादीहरूका चालहरूलाई सहयोग पु¥याइरहेका छन् । इमानदार कम्युनिस्टहरूले वस्तुवादी भएर कदम नचाल्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलनले केही वर्षमै रुसको गोर्बाचोभ र भारतको ज्योति वशुका कारण सिङ्गो कम्युनिस्ट आन्दोलनले क्षति भोग्नुपरेकै जस्तो अवस्था आउन सक्छ तर वस्तुवादी नीति, योजना निर्माण गरेर जाँदा नेपालले विश्वलाई वैज्ञानिक समाजवादको मार्गमा हिँड्न उत्प्रेरणा दिन सक्छ ।
पुँजीवादीहरूले नेपालका कम्युनिस्टहरूलाई सक्नका लागि तात्कालिक र दीर्घकालिक अर्थराजनीतिक कदमहरू चालिरहेका छन् । 
पुँजीवादीहरूको दीर्घकालीन योजना कम्युुनिस्टहरूलाई पाइला–पाइलामा बदनाम गर्ने, होच्याउने, जुधाउने, फुटाउने, जनताका दृष्टिमा असफल भएको देखाउँदै गएर समाप्त पार्नेछ भने तत्कालको योजना कम्युनिस्टहरूलाई फकाउने, लोभ्याउने, फसाउने, दलाल पुँजीवादको रक्षक बनाउने र क्रान्तिबाट विमुख गर्ने रहेको छ ।
हामी देखिरहेका छौँ– तत्काल केपी–प्रचण्डबाट दलाल पुँजीवादी राज्यसत्ता र पुँजीवादी संसदीय व्यवस्थालाई संरक्षण गर्न संसदीय व्यवस्थाको महिमागान गर्न लगाउने, यो व्यवस्था नै जनताको व्यवस्था हो भन्न लगाउने, वैज्ञानिक समाजवाद सम्भव छैन, क्रान्ति गरेर वैज्ञानिक समाजवाद आउँदैन भनेर बोल्न लगाउने, लेनिन, माओका विरुद्ध बोल्न र लेख्न लगाएर साम्यवादकै विरुद्ध उभ्याउने कार्य गरिरहेका छन् । उनीहरू कम्युनिस्टकै नामबाट क्रान्तिकारी एवम् इमानदार कम्युनिस्टहरूलाई दमन गर्न उक्साइरहेका छन् ।
पुँजीवादीहरूले राजनीतिक उद्देश्य पूर्ति गर्नका लागि आर्थिक क्षेत्रबाट सबैभन्दा बढी हमला गरिरहेका छन् । उनीहरूले कम्युनिस्ट पार्टीका नेतालाई भित्रभित्रै भ्रष्ट पार्ने, व्यक्तिगत स्वार्थको लालचमा फसाउने, श्रमिक जनताको सम्बन्धबाट थुतेर अभिजात वर्गमा पतन गराउने, दलाल पुँजीवादी दलालमा बदल्ने, विभिन्न गैरसरकारी संस्था लगाएर कार्यकर्ताहरूलाई भ्रष्टीकरण गर्ने गरिरहेका छन् । सांस्कृतिक रूपले विभिन्न गोष्ठी, कार्यक्रम, भोजभतेर लगाएर कम्युनिस्ट संस्कृतिबाट पतन गराउने, देशविदेश घुमाएर डलर थमाइदिने, पार्टीलाई होइन, व्यक्तिलाई आर्थिक सहयोग दिएजस्तो गरेर पतीत गराउने, विभिन्न असांस्कृतिक कार्यमा संलग्न गराउने, कम्युनिस्ट भनिनेहरूलाई नै धर्मकर्ममा लगाएर समाप्त पार्ने कार्य गरिरहेका छन् ।
अर्कोतिर केपी–प्रचण्डहरूले पुँजीवादी शासकहरूको प्रभावमा परेर संसदीय व्यवस्थाका पक्षमा लाज लाग्ने गरी प्रशंसा र महिमागान गर्दै, पुँजीवादी संसदीय व्यवस्था लोकतान्त्रिक र जनताको व्यवस्था भएको प्रचार गर्दै हिँडिरहेका छन् । दलाल पुँजीवादी राज्यसत्ताका विरुद्ध क्रान्ति गर्नु आतङ्कवाद हो भन्दै यसका विरुद्ध क्रान्तिमा बढिरहेको हाम्रो पार्टीविरुद्ध प्रतिबन्ध लगाइरहेका छन् । कम्युनिस्ट नै झन्डा बोकेर क्रान्तिकारी नेता–कार्यकर्ताहरूको हत्या गर्ने, गिरफ्तार गर्ने र दमन चलाइरहेका छन् । अमेरिका र भारतले कतै अविश्वास गर्छन् कि भन्ने डरमा आपूmहरू संसदीय व्यवस्थाको पूरा अनुयायी भएको कसम खाइरहेका छन् ।
आर्थिक रूपले दस्तुर लिन, अतिरिक्त मुनाफा र आयआर्जनका लागि देशका नदीहरू नै बेचिरहेका छन् । उनीहरूका आसेपासेहरूले गाउँदेखि केन्द्रसम्म भ्रष्टाचारको जालो खडा गरेर जनताको करबाट उठेको राज्यकोष उडाइरहेका छन् । पैसाकै लागि धर्मजस्तो उत्पीडनको हतियारलाई प्रयोग गरिरहेका छन् । शिक्षा–स्वास्थ्यलाई निजीकरण र व्यापारीकरण गर्नमा संलग्न भइरहेका छन् । 
वास्तविक कम्युनिस्टहरूले पुँजीवादीहरूका चाल र केपी–प्रचण्डहरूका विचलनकारी गतिविधिविरुद्ध वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्घर्ष सञ्चालन गर्दै कम्युनिस्ट प्रभावलाई वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने स्तरमा विकास गर्नु पर्दछ । यसका लागि कम्युनिस्टहरूले आफ्नो राजनीतिक सत्तासम्बन्धी विचारलाई जनताका बीचमा सशक्त तरिकाले निरन्तर प्रवाह गर्नुपर्छ । कम्युनिस्टको राजनीतिक व्यवस्था पुँजीवादी संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवादी– साम्यवादी व्यवस्था हो, जहिलेसम्म पुँजीवादी सत्तालाई फालेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गरिँदैन मानव जातिले मुक्ति, समानता र स्वतन्त्रता जीवनमा प्राप्त गर्न सक्दैनन् भन्ने विचारलाई जनतामा राखिरहनुपर्छ । हाम्रो देशमा दलाल पुँजीवादी सत्तालाई मिल्काउने र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने सम्भावना भएकाले सबै क्रान्तिकारीहरूले दलाल पुँजीवादी सत्ता र पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध मिल्न सकिनेजति सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी मित्रशक्तिहरूलाई एकताबद्ध गर्दै क्रान्तिमा अगाडि बढाउन मेहनत गर्नुपर्छ । त्यसैगरी कम्युनिस्टहरूले विदेशी हस्तक्षेप, अतिक्रमण, घुसपैठविरुद्ध निरन्तर सङ्घर्षहरू सङ्गठित गर्नुपर्छ । कम्युनिस्टहरूलाई फसाउने र फुटाउने पुँजीवादी, संशोधनवादी खेल चलिरहेकाले क्रान्तिकारीहरूले एकता र क्रान्तिलाई केन्द्रबिन्दुमा राखेर रोजगारी, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, जनसंस्कृतिका पक्षमा संयुक्त सङ्घर्ष गर्न पहल गरिरहनुपर्छ । आर्थिक रूपले मित्रहरूसँगको सहकार्यलाई बढाउँदै आत्मनिर्भर अर्थसम्बन्धको विकास गरेर क्रान्तिलाई बेरोकटोक हाँक्न सकिन्छ भन्ने सोचाइलाई पकड्न जरुरी छ । कम्युनिस्टहरू विश्व–साम्यवादी मानवसभ्यताका लागि लड्ने भएकाले पुँजीवादी विश्व–व्यवस्थाका विरुद्ध सम्भव भएसम्म सबै कम्युनिस्टहरूसँग सहकार्य गर्दै आआफ्नो देशमा क्रान्ति सम्पन्न गर्ने र सबै देशका क्रान्तिलाई सहयोग गर्ने कार्य गर्नु पर्दछ ।
हामी कम्युनिस्टहरूले इमानदारीपूर्वक यी कामहरू गर्न सक्यौँ भने वास्तविक कम्युनिस्ट राज्यव्यवस्था चाहने बौद्धिक एवम् श्रमिक नागरिकहरूलाई कम्युनिस्टप्रति निराश हुनबाट बचाउन सक्छौँ । पुँजीवादीहरूका कम्युनिस्ट समाप्त पार्न चाहने षड्यन्त्रबाट कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्न र कम्युनिस्टको निरन्तर प्रभावलाई अरू सुदृढ गर्न सक्छौँ । पुँजीवादीहरूको मोहपाशमा परेर कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न पुगेका विचलित कम्युनिस्टहरूभित्रैका इमानदार कम्युनिस्टहरूलाई त्यसबाट बाहिर ल्याउन, क्रान्तिकारीहरूलाई एकताबद्ध पार्न र कम्युनिस्ट समर्थक जनतालाई आशावादी बनाइरहन सक्छौँ । 
जहाँ भए पनि इमानदार कम्युनिस्टहरूले बुझ्नुपर्छ पुँजीवादी विषालु हावाविरुद्ध लड्न चुनौतीहरू छन् । कम्युनिस्ट आन्दोलनबाट भागेका कथित कम्युनिस्टहरूका विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिलाई अगाडि बढाउन जटिलताहरू छन् । तर पुँजीवादी चुनौती र भगौडा कम्युनिस्टहरूका अवरोधहरू मक्किएका चुनौती र अवरोधहरू हुन् । विश्व–पुँजीवाद आफ्नो पतनशील एवम् मरणशील जीवन बोकेर अनेकौँ सङ्कटमा लर्खराइरहेको छ । मानवजगत् वैज्ञानिक साम्यवादको नजिक पुग्दै गरेको छ । भगौडा कम्युनिस्टहरू भनेका स्वतन्त्र अस्तित्व गुमाइसकेका विश्व–पुँजीवादका सेटेलाइटभन्दा केही होइनन् । यिनीहरूसँग वैज्ञानिक समाजवादी क्रान्तिलाई रोक्नसक्ने तागत छैन जब कि कम्युनिस्ट विचार र वैज्ञानिक समाजवादी क्रान्ति जिउँदो भविष्य बोकेर बढिरहेको विचार आन्दोलन हो । हामी कम्युनिस्टहरूले धैर्य, दृढता, निष्ठा र समर्पणभावका साथ क्रान्तिकारी आन्दोलनमा जीवन समर्पित ग¥यौँ भने नेपालमा कम्युनिस्ट मास्न पसेका पुँजीवादीहरू आपैmँ नाश भएर समाप्त हुनेछन् । कम्युनिस्टलाई पुँजीवादी फोहोरमा हिसारेर खतम गर्न खोज्ने नेपाली पुँजीवादीहरू आपैmँ पातालमा भासिनेछन् । साथै पुँजीवादीहरूसँग मिलेर वास्तविक कम्युनिस्ट र वैज्ञानिक समाजवादलाई रोक्न चाहने भगौडा कम्युनिस्टहरू नसच्चिएमा पुँजीवादीहरूसँगै चितामा खरानी भएर जानेछन् । एक्काईसौँ शताब्दीमा नेपालमा कम्युनिस्ट फैलिएकोमा अचम्मित हुने होइन, वैज्ञानिक समाजवादी सत्ता स्थापना भएर कम्युनिस्ट प्रवाहलाई उत्साह र ऊर्जा भर्न सक्छ । नेपाल सानो भए पनि यसभित्र हुर्किरहेको कम्युनिस्ट प्रवाहले विश्व–मानवसभ्यताको अग्रगामी दिशाको झल्को दिन सक्छ । हामी कम्युनिस्टहरूले मनन गर्नुपर्ने गुदी कुरा यही हो ।

You can share this post!