अर्थमन्त्रीमा हानथाप, कसले मार्ला बाजी ?

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले २१ वैशाखमा केही नेतालाई आफ्नो निवास बोलाएका थिए । आफूनिकटका सीमित नेतासँगको त्यो भेटमा नेपालले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबारे टिप्पणी मात्र गरेनन्, वामदेव गौतम र विष्णु पौडेलबारे पनि बोले । कुरैकुरामा नेता नेपालले भने, ‘वामदेव गौतम, विष्णु पौडेलले तपाईं प्रधानमन्त्री नबनी भएन, केपी ओलीबाट पार लागेन भनेका थिए । मैले छलफल गरौँला भनेको थिएँ ।’

नेता नेपालले गौतम र पौडेलको विषयमा बोल्दा नेकपा अन्तरसंघर्ष उत्कर्षाेन्मुख थियाे । प्रधानमन्त्रीबाट केपी ओलीलाई राजीनामा गराउन प्रयास पनि सुरु भइसकेको थियो । गौतमलाई साथ लिएर पौडेल नेता नेपालसम्म पुगेकाे विषय झन्डै चार महिनाअघिको सन्दर्भसँग जोडिन्छ ।  

१८ फागुन ०७६ मा अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदै थियो । कार्यकाल सकिएसँगै अर्थमन्त्रीबाट खतिवडा हट्दै थिए । त्यति बेला नै खतिवडापछि अर्थमन्त्री बन्न चाहन्थे पौडेल । प्रधानमन्त्री ओलीसमक्ष पौडेलले आकाङ्क्षा पोखिसकेका पनि थिए । पौडेलको सपनामा चिसो पानी खन्याएर ओलीले खतिवडालाई नै ६ महिने अर्थमन्त्री बनाइदिए । 

अर्थमन्त्रीको आकाङ्क्षा राखिरहँदा एकातिर बालुवाटार जग्गा खरिद प्रकरणमा मुछिएका पौडेलको मुद्दा सेलाइसकेको थिएन । अर्कातिर, ११ फागुन ०७६ मा वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालयको बहुमतको निर्णयसम्म आईपुग्दा पौडेल अध्यक्ष प्रचण्ड र नेता नेपाल समूहमा खुलिसकेका थिए । २३ पुस ०७६ मा गौतम निवासको सचिवालय सदस्यको  भेलामा पौडेलसहित ६ जना थिएँ, जहाँ ओलीको विकल्पमा विर्मश सुरु भइसकेको थियो । 


बिच्किएका ओलीले पौडेललाई अर्थमन्त्री बनाएनन् बरु खतिवडलाई अस्पतालको शय्याबाटै २० फागुन ०७६ मा अर्थमन्त्री नियुक्त गरे । यी सबै प्रकरणका कारण गौतमलाई बोकेर पौडेलले नेता नेपालसँग ओलीको विकल्पमाथि विर्मश गर्न पुगेका थिए । नेता नेपालनिकट एक नेताका अनुसार त्यस्तो प्रस्ताव गर्नेमा गौतम र पौडेल मात्र होइन, नारायणकाजी श्रेष्ठ पनि थिए । 

नेपालसमक्ष ओलीको विकल्प खाेज्नुपर्ने प्रस्ताव राखेका उनीहरू ओली नेतृत्वकै सरकारमा जाने चाहना पनि पालिरहेका छन् । नेकपाकै कतिपय नेता भन्छन्, ‘प्रधानमन्त्री फेरबदलकाे परिस्थिति पनि गौतम र पौडेलले नै तुहाएका हुन् ।’ 

संयोग कस्तो भइदियो भने प्रधानमन्त्री हटाउन नेपालसमक्ष प्रस्ताव लैजाने दुवै जना अ‍ाेलीको अर्थमन्त्री हुने कसरतमा देखिन्छन् । नेपालनिकट एक नेताले शिलापत्रसँग टेलिफोनमा भने ‘विधिको कुरा गरेर ओलीलाई हटाउनुपर्छ भन्ने साथीहरू पद र पैसाको लोभले मन्त्रीको दौडमा लाग्नुभएको छ ।’

खतिवडालाई पन्छाउन सके ओलीले अर्थमन्त्री पत्याउँछन् भन्ने आसमा पौडेल थिए । राष्ट्रियसभा सदस्यमा मनोनीत भएसँगै वामदेव गौतमले समेत उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा दाबी गरेपछि पौडेललाई केही अफठ्यारो त देखिन्छ तर राष्ट्रियसभामा गौतमलाई लैजाने माहोल पौडेलले नै बनाएका हुन्, जसका कारण गौतमलाई पछाडि हटाउन सकिन्छ भन्ने मनोविज्ञान पौडेलमा देखिन्छ ।

१४ फागुन ०७६ मा वामदेवलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयमा ओलीसहित ईश्वर पोखरेलले असन्तुष्टि पोखेका थिए तर पौडेल नै त्यस्ता नेता हुन्, जो गौतमको पक्षमा उभिएर सञ्चारमाध्यममा प्रतिरक्षा गरेका थिए । 

केही महिनायता भने पौडेल ओली कित्तामा छन्, त्यसैले नेकपाभित्रको अन्तरसंर्घषका हरेक चरणमा गौतमलाई ओलीकै कित्तामा लैजाने भूमिका पौडेलको छ । अर्थात् ओलीको रक्षाकवचको भूमिकाको मूल्यांकनले समेत अर्थमन्त्री पाउने आशा पौडेलले राखेका छन् । हुन पनि नेकपाको विवादमा गौतम सुरुमा अध्यक्ष प्रचण्ड र नेता नेपालको कित्तामा उभिन्छन् तर निर्णायक परिस्थितिमा ओलीतिर हुन्छन् । 

गौतमलाई त्यसरी कित्ता परिर्वतन गराउने भूमिका पौडेलकै भएकाे नेकपाका नेताहरू बताउँछन् । भूमिगत कालदेखिकै दुई नेताको मिल्तीमा पौडेलको वचन काट्न नसक्ने गौतमले अहिले अर्थमन्त्रीमा पौडेलका लागि  दैलो खुला गर्देलान् भन्ने आँकलन नेकपाका कतिपय नेताको छ । पौडेल सकभर आफैँ अर्थमन्त्री हुने, नसके गौतमलाई बनाउने अभियानमा छन् । उनीहरूको स्वार्थ मिल्ने भएकाले पनि दुई नेताबीच मिल्ती हुन सक्ने अनुमान गरिएको छ ।

पौडेलसँग यही विषयमा कुराकानी गर्न पटकपटक प्रयास गरिए पनि उनी सम्पर्कमा आएनन् । म्यासेजको प्रतिउत्तरसमेत उनले दिएनन् । 

नेता नेपालनिकट सुरेन्द्र पाण्डे पनि अर्थमन्त्रीका आकांक्षी हुन् । पाण्डेलाई प्रधानमन्त्री ओलीले मन्त्रीको आशा देखाएकै कारण कार्यदलको प्रतिवेदनमा लचिलो भएकाे आरोप उनीमाथि छ । ‘मन्त्री पाइने आशमा साथीहरूले लचिलो प्रतिवेदन बनाउनुभयो, अब मन्त्री हुनुहोला नि !’, नेपालनिकट ती नेताले भने ।

तैपनि प्रधानमन्त्रीले पाण्डेलाई शहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिने चर्चा नेकपा वृत्तमा छ । तर, पाण्डे अर्थ मन्त्रालयबाहेक अन्य मन्त्रालयकाे जिम्मेवारी लिने पक्षमा छैनन् । 

खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएर प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफैँसँग राख्ने तयारी गरेकाे पनि बताइन्छ । तर, याे परिस्थितिअनुकूल हुने देखिँदैन । बरु चर्चामा आएजस्तै प्रदीप ज्ञवालीलाई अर्थमन्त्री र खतिवडालाई आर्थिक सल्लाहकार बनाउन सक्ने धेरैकाे अनुमान छ । 

ओलीको संकट टार्न भूमिका खेलेका जनार्दन शर्माको नजर पनि अर्थमै छ । गौतमसँग संगठन विभागमा सँगसँगै काम गरेका शर्माले नै अर्थमन्त्रीमा गौतमकाे हल्ला चलाएका हुन् । कदाचित गौतमलाई गृह मन्त्रालयमा पठाउन सकिए पूर्वमाओवादीको भागमा अर्थ मन्त्रालय पर्ने र त्यसमा आफूले दाबी गर्न सक्ने बुझाइ शर्माकाे छ ।

अर्थ मन्त्रालयको आर्कषणका कारण नेकपाका नेताहरू दौडधुप गरिरहेका बेला अर्थतन्त्र झन् खतरामा देखिँदैछ । पूर्वगर्भनर दीपेन्द्रबहादर क्षेत्रीको विश्लेषणमा बढ्दो प्रशासनिक खर्चसँगै अर्थतन्त्रमा देखिएको संकुचनले अब जो अर्थमन्त्री भए पनि संकटमोचनको पिरलो चर्को हुनेछ ।

हुन पनि, कोरोना महामारीसँगै राजस्व तथा कर संकलनमा आएको गिरावटले सरकार दैनिक खर्च धान्नै नसक्ने अवस्थामा पुगेकाे छ। त्यसमाथि घट्दो वैदेशिक सहायताले पनि अर्थतन्त्रलाई दबाबमा पारिरहेको छ । दबाब र अभावले थिचिने बेला अब आउने अर्थमन्त्रीले कम्ता जोखिम मोल्नुपर्ने छैनन्, जसको सामना गरेर अर्थतन्त्र चलायमान बनाउन कम विवेकले पनि पुग्दैन ।

source: shilapatra.com

You can share this post!