काठमाडौं, बागलुङका बाढी पहिरो पीीडतका लागि राहत सामग्री लिएर उडेको गृहमन्त्रीसहितको टोली सवार नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गरिएको छ ।
बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् । गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देबेन्द्र पौडेल र राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो ।
बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ताको संख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ ।
घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएको छ । ‘हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ’, उनले भने ।
घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको भनाइ छ । अरिवरल वर्षासंगै गए राति १२ वजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिऐ । प्रहरीका अनुसार बाढीका कारण घाइते हुनेमा ढोरपाटन न.पा.४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन रहेका छन् ।
source: kusenews.com