ढोरपाटन बाढी अपडेट : ११ को मृत्यु, ३० बढी अझै बेपत्ता

बागलुङ : ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । यो सँगै बेपत्ता हुनेको संख्या पनि ठूलो संख्या देखिएको छ । जिल्ला प्रहरी कार्यालय  बागलुङका अनुसार ३० जना भन्दा बढी बेपत्ता भएका छन् । बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगे पछि दोब्बर बढी संख्यामा मानिसहरु बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३१ बढी घर बगाएको छ । मृतकमध्ये चार जना पुरुष र एक बालिकासहित ७ जना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ।  ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताए। 

शव कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा भेटिएको छ । शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको हो । ढोरपाटनको वडा नम्बर ६,७ र ८ मा नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य शुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

‘अन्य गाउँमा पनि प्रहरी र स्थानीय मिलेर खोजी तथा उद्धार कार्य जारी राखेका छन्, ‘प्रजिअ न्यौपानेले भने, ‘बाढीका कारण सबैजसो ठाउँमा सवारी अवरुद्ध भएको छ, सबै क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना परिचालन गरेर खोज उद्धार कार्य अघि बढाएका छौ। ‘

बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ ।

source: annapurnapost.com

You can share this post!