– सन्जोग सरिक
मृत्युको परिपथभित्र
डोरिएको मेरो गिन्ती जन्मदिनहरुमा
मैले कहिल्यै उत्सव मनाइन बरु
झन भावविह्वल बने
किनकी
म सम्झन्थे मेरो अन्त नजिक आउदैछ
मैले इच्छाएको लक्ष्यको समय झन कुचिदैछ
अवशेष जब भए ती
चट्टान जस्ता बोझहरु
सुख्खा भए तब ती
मेरो निम्ति उर्लिने मनहरु
दक्षिण बाट सधै मन्द सुस्केरा हाल्ने पवनको तोड
पुर्वीबाट खेल्दै पश्चिम तिर बहकिदैछन
पवन सङ्गै म नि बहकिदैछु
किनकी म
शीतलताको खोजिमा दौडिराछु
सायद क्षितिजको साक्षी बन्नु छ मलाइ
दुई किनाराको खोल्सी हुनु छ मलाइ
म भित्रको तेजस्वी किरणहरु
डुब्न लागेको पहेलो घामजस्तै हुदैछ
म भित्रको अथाह आत्मस्वाभिमानी र आत्मबल
फोस्के ढुङ्गा जस्तै फुटिरहेछ
कल्पनाको सिरानिमा सपनाको सिरक ओढ्ने ज्यान
जति नै अनमोल भएनी अब
एक सरो सेतो कात्रोमा
अचेत हुने गरि सदैव निदाउदैछ
धनको निम्ति मिहिनेत गर्ने दिमागमा
हाडे खप्पर मात्र अब बाकी छ
प्रतिस्ठाको निम्ति मलाइ ढाक्ने महङ्गो कपडाहरु
यो अस्थिपन्जर जीउमा आजकल
असुहाउदो विचित्रतामा
बाध्यताको पराकाष्ठाले
लम्पसार छ
छन्द मुटुलाइ खण्ड बनाइदिने ती पापी आत्मालाइ
बचनको वाणले म
सहानुभूति टक्र्याउछु
अपवित्र बन्धन जोडेर नाटक रच्ने ती पारखीलाइ
पवित्र आत्माको
देहावसान उपहार दिनेछु
मृगतेज झै यी नयनी शक्तिमा
नजिकको मेरो छाया नि मत्थर लाग्दैछ
सुकिलो यो शरीरको अङ्ग प्रत्येङ्गहरु
शिशिरको गगन झै मडारिएको छ
अनि, स्पर्शको चाल दिने बाह्य बोक्रा
लज्जावती झार झै खुम्चिदै छ
सिन्दुरलाइ उपहास गर्ने ती दुष्ट मनलाइ
किन एकरती नि जल्दैन ?
मलाइ जस्तो भतभत किन पोल्दैन?
भगवान सङ्ग यहि प्रश्नको उत्तर लिन
एउटा सुनसान बस्तीमा जादैछु
सन्नाटाले पिरोलेको मुर्दाघाटमा जल्दैछु
जहाँ मेरो प्रियात्मन
शैतानी मुर्कुटाहरु हुनेछन
उनिहरु सङ्ग नै म मेरो
हरेक आकान्क्षामा
दर्दको मेरो प्यासहरु मेटाउनेछु
दागबत्ती दिने मेरो मुखबाट
सन्सार जितेको अनुभुत गर्दै
किचिक्क दात देखाइ
एक खित्को मुस्कान छाडी
मलामिहरुलाइ कृतज्ञता अर्पण गर्नेछु
मेरो शरीरमा भएको
एक मुठी श्वास अब
सधैका लागि उम्किनेछ
अनि अस्ताउनेछ सदाबहार
यो जिउदो लास ।