गजल
नमिता दवाडी
सास किन्न मैले, खुसी र सम्मान बेचेकी छु ।
किन्नुस् ! भट्टीमा छोरीको मुस्कान बेचेकी छु ।
लोरीकै भरमा भोकै सुत्छे सुत्दिन, नानी भरे !
साहु तिर्न बिहान, खलोबाटै धान बेचेकी छु ।
बस्तीले बेस्या भन्छ बाबु! भन्छौ भन्दैनौ आमा ?
तिम्रै ज्यान बचाउन मैले, मेरो ज्यान बेचेकी छु ।
खाएर बाहिर ननिस्कनु आमा ! चुठ्नु आँटीमै,
जाउलोसँगै ओखती किन्न खलान बेचेकी छु ।
उज्यालो किन्नुस् ! रङ्ग उज्यालोमा सुहाउँछ,
हेर्नुस् ! रात किन्न मैले पनि बिहान बेचेकी छु ।