‘पौडेललाई मानौँ आफ्नै उमेर ढल्किसक्यो, नमानौँ देउवा फेरि सभापति हुन्छन्’

भदौ ११, २०७७ काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नजिकिँदै छ। फागुन ७-१० लाई महाधिवेशन मिति तोकिएको छ। सांगठनिक समायोजन, सदस्यता वितरण र नवीकरण लगायत कामहरु समयमै नसकिने पक्का भएकोले यही मितिमा महाधिवेशन नहुने अवस्था छ। फागुनमा महाधिवेशनमा नभए २०७८ को भदौका लागि धेरै नेताहरुले  विकल्पका रुपमा उचित समय भनेका छन्। यस्तोमा सभापति शेरबहादुर देउवाले ६ महिना थप गर्न पाउने अधिकारलाई प्रयोग गर्ने देखिन्छ। यो त भयो महाधिवेशनको मितिको कुरा। तर, अहिले कांग्रेसमा महाधिवेशनको मिति भन्दा चर्काे सभापतिको उम्मेदवार छान्‍ने कुरा देखिएको छ।  नेपाली कांग्रेसमा उप-गुटहरूलाई भुल्ने हो भने कांग्रेसमा अहिले तीन वटा गुट छन्। संस्थापन तथा सभापति शेरबहादुर देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पक्ष। यी तीनैजना १३ औँ महाधिवेशनमा सभापति पदकै लागि भिडेका थिए। देउवाले पौडेल समूहका नेता तानेरै भएपनि हराएरै छोडे। १४ औँ महाधिवेशनमा पनि यि तीनै नेता सभापतिका आकांक्षी हुन्। तर, अहिले यी तीन नेताले अरु आकांक्षीको समेत दबाब थेग्‍नु परिरहेको छ। सभापतिको उम्मेदवारका आकांक्षीहरू बढेका छन्। अहिले सबैभन्दा धेरै आपत् वरिष्ठ नेता पौडेललाई छ। देउवालाई उपसभापति विमलेन्द्र निधिबाहेक अरुले चुनौती दिएका छैनन्। सिटौलालाई आफ्नो समूहमा चुनौती दिने कोही निस्कने देखिँदैन।  रामचन्द्रलाई नेता फकाउनै चर्को वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्ना पक्षका शीर्ष नेता फकाउनै हम्मेहम्मे छ। पार्टीका महामन्त्री तथा कांग्रेस संस्थापक बीपी कोइरालाका पुत्र शशांकलाई फकाउन पौडेललाई सबैभन्दा गाह्रो छ। उता पूर्व महामन्त्री तथा कांग्रेसका अर्का संस्थापक गणेशमान सिंहका पुत्र प्रकाशमानलाई फकाउनु पौडेलका लागि कम चुनौतीपूर्ण छैन। त्यस्तै केन्द्रीय सदस्य शेखर कोइराला यसपटक कुनै हालतमा पनि सभापति लड्न देश दौडाहा नै गरिसकेका छन्।  उता अर्जुननरसिंह केसी, रामशरण महतलगायतका नेताहरु पनि सभापतिको उम्मेदवार बन्‍न आफू नै उपयुक्त पात्र भएको बताउँदै आएका छन्। ‘रामचन्द्र दाइलाई कति पटक छोड्ने अब हामी सधैँ पछि लाग्‍न सक्दैनौँ हाम्रो पालो कहिले आउने,’ पौडेल पक्षबाट सभापतिका आकांक्षीमध्ये एक नेता भन्छन्, ‘उहाँ नभएसम्म हामीले छोडिरहनु पर्ने भन्‍ने त छैन नि अब अहिले हामीले पाएनौँ भने अर्काे पुस्ताले १५ महाधिवेशनपछि त कुर्दैन। त्यो बेला उनीहरुले हामीमाथि हस्तक्षेप गरिहाल्छन्।’  नेता तान्‍ने दाउमा देउवा?  उता सभापति देउवा १३ औँ महाधिवेशनमा जस्तै पौडेल पक्षका केही प्रभावशाली नेतालाई आफ्नो टिममा ल्याएर उम्मेदवार बनाउने रणनीतिमा छन्। १३ औँ महाधिवेशनमा देउवालाई जिताउन उपसभापति विमलेन्द्र निधिले अर्जुननरसिंह केसीलाई क्याम्प चेन्ज गराएका थिए। अन्ततः देउवाले जिते, केसीले चुनाव हारे। अहिले पौडेल पक्षका केही प्रभावशाली नेताहरु पौडेल पक्षबाट देउवा पक्षमा गएर उम्मेदवार भएर चुनाव हार्ने पक्षमा छैनन्। त्यसो त महामन्त्री शशांकले जित्दा वरिष्ठ नेता पौडेलले हारे। शशांकले निर्वाचित भएपछि भनेका थिए,‘मलाई सभापतिज्यूले (देउवा सभापति भइसकेपछि) सहयोग गर्नु भयो।’ निधिले आफू सभापतिको उम्मेदवार बन्‍न लागेको जानकारी देउवालाई गराएपछि देउवाले शशांकसँग छलफल बढाएको नेताहरु बताउँछन्। पौडेललाई नै मान्‍ने कि ?  अहिले पौडेल समूहबाट उमेदवार बन्‍न इच्छा देखाएकाहरू कोही पनि ढुक्कले चुनाव जितिन्छ भन्‍ने स्थितिमा छैनन्। ‘हामीले नेताहरुलाई निरन्तर दबाब दिइरहेका छौँ। यो समूहबाट एकजना मात्रै उम्मेदवार बनाउन,’ पौडेल समूहका युवा नेता बद्री पाण्डे भन्छन्, ‘अहिले पौडेल समूहमा समस्या चर्किएको छैन। समस्या कम हुँदै गएको छ। शीर्ष नेताहरु मिल्नुको विकल्प पनि छैन।’ उनले देउवाको विकल्प आउनका लागि संस्थापन इतर समूहबाट एक जनामात्रै उम्मेदवार हुनुपर्ने बताए। अहिले सभापतिका आकांक्षीहरुलाई पुन: पौडेललाई नमान्‍ने हो भने पार्टी सभापति देउवा नै निर्वाचित हुने अर्का नेता बताउँछन्। ‘संकट चाहिँ ठूलै संकट छ। पौडेललाई मानौँ आफ्नो पनि उमेर ढल्किसक्यो नमानौँ देउवा फेरि सभापति हुन्छन्। पार्टी सिध्याउँछन्,’ उनी भन्छन्, ‘अरु साथीहरुले पौडेललाई नै समर्थन गरौँ भन्छन् भने म तयार छु, बीचमा कसैले छलकपट गर्न पाइँदैन।’  पौडेल पक्षका अर्का नेता नवीन्द्रराज जोशी कांग्रेसलाई पुनर्जागरण गर्नका लागि १४ औँ महाधिवेशनमा महत्वपूर्ण रहको बताउँछन्। ‘यसपाली नेताहरु एक ठाउँमा आउनै पर्छ,’ उनले भने, ‘यसपाली नेताहरु मिलेर कांग्रेसले निर्वाचनहरू जितेर सरकार चलाउने हैसियत कसरी बनाउने भन्‍ने सोच्नुपर्ने छ। जनताको लागि कांग्रेसले काम गर्छ भन्‍ने विश्‍वास त दिलाउन पर्याे सधैँ पार्टी कसैको कब्जामा परेर भएन।’
source : thahakhabar.com

You can share this post!