जातीय अत्याचारको यो रूप: राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि निर्घात कुटपिट

झापा । सोमबार राति ८ बजेतिर झापा मेचीनगर–१९ चारआलीका राजन दर्जी आत्तिँदै र गुहार माग्दै स्थानीय चिया पसलभित्र प्रवेश गरे । उनलाई छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले गालीगलौज गर्दै लखेटिरहेका थिए ।

जातीय विभेदयुक्त शब्दमा गाली गर्दै आइरहेका उनीहरूलाई चियापसलकी सञ्चालक तथा कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेले रोक्न खोजिन् ।

र, ‘अहिलेको जमानामा पनि किन जातीय विभेद गर्ने शब्द बोल्नुभएको’ भन्दानभन्दै उनीमाथि नै जाइलागे श्रेष्ठ दम्पती । ‘तँ पनि तल्लो जातकी रैछेस् भन्दै आक्रमण गरे,’ चन्द्रकला भन्छिन् ।

श्रेष्ठ दम्पतीको निर्घात कुटपिटबाट नेपाल पुलिस क्लबमा आबद्ध एथ्लेटिक्स खेलाडी चन्द्रकला सख्त घाइते भएकी छिन् । सात महिनाकी गर्भवती उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

चन्द्रकला र उनका पति सुमन खाती चारआलीस्थित राजन दर्जीकै जग्गामा रहेको गुम्तीमा चियापसल चलाउँछन् । श्रेष्ठ दम्पतीको घरमा पनि होटेल सञ्चालनमा छ । राजन उक्त होटेलमा क्यारेमबोर्ड खेलेको हेर्न गइरहन्थे । सोमबार पनि उनी खाजा खान सोही होटेलमा पुगेका थिए । कुटपिटमा संलग्न दुर्गा श्रेष्ठ नेपाली सेनाबाट सेवानिवृत्त हुन् ।

श्रेष्ठ दम्पतीले उनलाई दलित भएकैमा हेपेर बोल्ने गर्थे । दलित समुदायलाई होच्याउने तुच्छ शब्द प्रयोग गर्दै गाली गर्थे । सोमबार खाजा खाँदै गर्दा दुर्गा श्रेष्ठले एकाएक राजनलाई बेल्टले पिट्न थाले ।

कसैले छुट्याउन सकेनन् । त्यसपछि राजन उनीबाट भागेर चन्द्रकलाको चियापसलमा गुहार माग्दै पुगे । चन्द्रकलाले रोक्न खोज्दा ‘तँ कोरोना बोकेर आएकी छेस्’ भन्दै उनीमाथि पनि बेल्टले निर्घात कुटपिट गरे ।

तीन महिनाअघि राजन भारतबाट आएका एक साथीसँगै नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । तर, पछि दुवैजनाको रिपोर्ट नेगेटिभ आयो र घर फर्किए । त्यसयता दर्जीलाई श्रेष्ठ दम्पतीले कोरोना बोकेर आएको भन्दै जातीय विभेदयुक्त शब्दमा गालीगलौज गर्दै आएका थिए । नयाँ पत्रिका दैनिकबाट

You can share this post!