सिन्धुपाल्चोक, बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछ
लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ…
जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको ठाउँ चटक्कै छाडेर हिंड्नु पर्दा कसको मन रुँदैन होला र ? टुहुरेको गीतमा जस्तै यतिबेला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितहरू बाँच्नकै लागि आफ्नो थातथलो छाडेका छन् ।
जन्मभूमि छाड्ने रहर हुँदैन तर गाउँमा पहिरोले बस्न नदिएपछि उनीहरू आफ्नो गाउँभन्दा निकै टाढा ११ घण्टा हिँडेर जुगल गाउँपालिका–१ सेलाङमा रहेको बाँसखर्कस्थित सामुदायिक वन क्षेत्रमा आइपुगेका छन् त, कोही आउने क्रम छन् ।
२९ साउनको बिहान आएको भीषण पहिरोले लिदीवासीले ३९ छिमेकी गुमाए, कतिले परिवारका सबै सदस्य नै गुमाए । आफन्त र छिमेकी एकै प्रहरमा गुमाउनु पर्दाको पीडा लिदीवासीले भोगेका छन् । त्यसभन्दा बढी पीडा पहिरोमा बाँच्नेहरूलाई छ ।
जुगल गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले लिदी पहिरोमा विस्थापित भएकाहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा राख्न सेलाङको बाँसखर्क सामुदायिक वन नै उपयुक्त भएको निष्कर्ष निकालेपछि अहिले विस्थापितहरू यहाँ आउन थालेका छन् ।
लिदीबाट हिँडेको ११ घण्टामा अस्थायी बासस्थानमा आइपुगेका लिदीका कान्छा दोङको मन यतिबेला बेचैन छ, केही छिमेकीसहित बाँसखर्कमा आइपुगेका दोङ जन्मभूमि छाड्नु पर्दाको पीडा बताउन नै सक्दैनन् ।
‘हामी भूकम्पपछि पनि यहाँ आएर बसेका थियौं तर सरकारले यहाँ बस्न दिएन । अहिले फेरि आएका छौं । यहाँ पनि केही महिना त होला नि,’ दोङले पीडा मिश्रित स्वरमा भने ।
लिदीवासीहरू बाँसखर्कमा रहेको अस्थायी क्याम्पमा आउने क्रम सुरु भएको र सोमबारसम्म एक सयभन्दा बढी स्थानीय आइपुगेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । भूकम्पपछि पनि लिदीलगायत आसपासका करिब ५ सय स्थानीय यहाँ आएर बसे पनि सरकारले वनको जमिन भएको भन्दै यहाँ बस्न नदिएपछि आफूहरू गाउँमा नै फर्केको पीडितहरूले बताए ।
लिदीको पहिरोमा ज्यान गुमाएका अधिकांश यहीबाट फर्केकाहरू नै भएको बाँसखर्क आइपुगेका कान्छा दोङले बताए । ‘हामीलाई यहीँ बस्न दिनुहोस् भन्दै हामी सिंहदरबारसम्म पुग्यांै तर हाम्रो कुरा सरकारले त्यति बेलै सुनुवाइ गरेन । त्यतिबेला हामीलाई यहाँ बस्न दिएको भए अहिले यस्तो हुने थिएन,’ उनले भने ।
बाँसखर्क जंगलमा अहिले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको चाइनिज टेन्ट राखिएको छ । सुरक्षाकर्मी र स्थानीयले एक सय बढी टेन्ट बनाएका छन् । पहिरोमा विस्थापित भएका १ सय ७२ लाई यहाँ राख्ने योजना रहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
‘लिदी पहिरोमा विस्थापित भएकाहरू अझै पनि बाँसखर्कमा आउन तयार भएका छैनन् । केही महिनापछि फेरि त्यही नै जानुपर्ने हो कि भन्ने चिन्ता देखिएको छ,’ अध्यक्ष श्रेष्ठले भने । लिदीबाट बाँसखर्कसम्म आउन हिंड्न सक्नेलाई नै ११ घण्टा बढी लाग्छ, गाउँमा महिला, अपांग, केटाकेटी र वृद्धाहरू छन् । ‘उनीहरूलाई यहाँ कसरी ल्याउने त्यो पनि समस्या छ,’ वडा अध्यक्ष प्रताप लामाले भने ।
बासखर्कको अस्थायी बासमा आइपुगेका लिदीवासीले आफूहरूलाई स्थायी रूपमा नै यहीँ राख्न माग गरेका छन् । ‘खेतीपाती गर्ने जग्गा समेत हामीलाई दिनुपर्छ, हामी गाउँको जग्गा सरकारलाई दिन तयार छौं,’ दोङले भने, ‘यहाँ बस्न दिइएन भने त हामी अन्यत्र जान बाध्य हुन्छौं ।’
बाँसखर्कमा आएर अस्थायी रूपमा बसोबास गर्न सुरु गरेका लिदीवासीलाई विभिन्न संघसंस्थाले अत्यावश्यक सामग्री दिन सुरु गरेका छन् । बाँसखर्कमा आएको पहिले दिन नै पर्यटन व्यवसायी राजु शर्माको पहलमा स्विस नागरिकमार्फत १ सय ७२ थान त्रिपाल, टर्च लाइटलगायतका सामग्री प्रदान गरिएको छ ।
त्यस्तै अक्सफमको सहयोगमा जनहित ग्रामीण सेवा समितिले १२ थान टेन्ट, १ सय थान त्रिपाल, १ सय ७२ थान हाइजिन कीट, किचेन सेट ४५ थानलगायतका राहत सामग्री वडा अध्यक्ष प्रताप लामालाई हस्तान्तरण गरिएको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए । राजधानी दैनिकबाट
source : kusenews.com