गजल
– नमिता दवाडी
बल्न दिनुहोस् मुहारको बत्ती, निभाई राख्नु अघि ।
आमा ! रातो राख्नुस् अक्षतामा बिदाइ राख्नु अघि ।
दर्जी दाइ ! पापी परेला राम्ररी खिपि दिनुहोस्,
मेरी छोरीको छोटो घाँगरमा सिलाई राख्नु अघि ।
तिम्रा बाले ठुलै मोल चुकाउनु भएको रहेछ जग्गेमा,
आज ! आफैं लट्टाई भै मलाई चङ्गा बनाई राख्नु अघि ।
ए हजुर ! सुन्नुस् न ! मलाई जंगली आमा हुन मन छ,
सभ्य बनेर, मेरी सानीलाई ढोँग सिकाइ राख्नु अघि ।।
मल्हमपट्टी उसैले गरिदिएको हो, दधारेका घाउहरुमा,
सँगै दौडिँदा, घुम्तीमा खुट्टा भाँचेर लडाइ राख्नु अघि ।
गोर्खा नेपाली कि श्रष्टा हाल न्युजल्याण्डमा बस्छिन्