बुवाकै आदर्श र मार्गनिर्देशमा

कविता

लक्ष्मण चौलागाई

आज बुवाको मुख हेर्ने दिन

पल पल सम्झन्छु बुवा हजुरलाई

कुशे औंसीका दिन मात्रै हैन

घरिघरी हर क्षणहरुमा

हिड्छु म मेरा पाइला अघि बढाई

बुवाकै आदर्श र मार्ग निर्देशमा

दुख, कष्ट, पीडा सबै दुर हुन्छन्

बुवाको साथ सम्झँदा

आधा आकाश ढाक्ने बुवा नै हो

यो संसार देखाउने एउटा आँखा

आमा नै हुन

यो धर्ती देखाउने अर्को आँखा

सदैव पुजनीय बुवाआमाको बाटो पच्छ्याउदै

उहाहरुकै आशिर्वादले

मेरो नियात्रा दर्ज भएको थियो

यसैले आज म सम्झन्छु

ती ईतिहास बनिसकेका मेरा बुवाका साथहरु

जतिबेला पनि पढ ,पढ छोरा

भोलि दुख पाइन्छ नि फेरि

नपढे आज …

कति धेरै सपना,

म भन्दा धेरै थिए मेरा बुवाको

चर्चरी फुटेका कुर्कुच्चा

र छर्छरी फुटेका हातखुट्टा

कडा श्रमकै वजह

अथक लाग्नुहुन्थ्यो मेरो बुवा

स्मृती भरी….

उहाले मेरो जीवनको लागि गर्नुभएको दु:ख

सम्झन्छु

काम गर्दागर्दै थकाई मार्दा मलाई जिस्काउदै

निधार खुम्च्याउदै हँसाउनुहुन्थ्यो

मार्ग देखाउदै सपना र भविष्यका

आज तारामा हेर्नूको अर्को विकल्प छैन

त्यो प्यारो भौतिक चोला फाटेको पनि

१८ औँ स्मृती भैसकेछ बुवा

हरेक तिथीमा ,

हजुरको आत्मा शान्तिको कामना गर्न

आमा म र भाई गोकर्ण देव भूमीमा गई

हजुरलाई सम्झने गरेका छौं

आकाशमा बादल बाक्लो लाग्दा

तपाईको आकृती खोज्ने गर्छौं

हामी हजुरका छोराछोरीहरु, बुवा !

स्मृतिभरी सदैव बाँचिरहनुहुने बुवा

स्वर्गमा कति रमाइलो होला

जीवनका कथा कहनुहुन्छ होला

ठूलो बा ,हजुर बा हजुर आमा संग

भेट भयो बा हजुरका जननीहरु संग

ती मैले पक्डेका हजुरका हातका औला

अनि मैले सुनेका हजुरका कथाहरुले

आज मलाई बा हजुरले बोल्नुभएको

आवाज झल्झल्ती कान सम्म आएर बोलिरहे झैं

भान भएको छ

समयले इतिहास बनाइसकेका ती प्रेरणादायी साथ

आज हजुरकै देन म हजुरलाई मर्त्यलोकबाट सम्झँदै

आकाश हेर्दै टोलाउने वर्तमानमा आइपुगेछु बुवा

के गर्नु जन्मेपछि मर्नुपर्ने

फलेपछी झर्नै पर्ने

उम्रे पछि बढ्नै पर्ने

आएपछी जानै पर्ने

सृष्टिको आफ्नै नियमको पराकाष्ठा

मिलन बिछोडको विश्वविद्यालयमा मेरा

जिवनावधिका पढाईहरु चल्दैछन बा

सम्झनामा सदैव ,मस्तिष्क भरी हरपल

तर भौतिक दुनियाँमा कहिल्यै न आउने बाटो

जानुभयो

स्वर्गका बगैंचामा फुल्ने फूलहरुले हजुरलाई कति

झस्काउँछ होला है बुवा

हाम्रा यादहरु कल्पना बन्दै

हजुरलाई सपनीमा पनि आएर जिस्काउँदा होलान है

बाबा

हजुरको माया र आशिर्वादले

आजसम्म सकुशल रहि हजुरकै मार्गनिर्देश

अनुशरण गर्दै निरन्तर यात्रामा हजुरलाई सम्झिदैछु

बा

हजुरको आत्माले शान्ती पाएको हओस बाबा

मुक्तिको महाप्रस्थानमा उहिले नै लाग्नुभएको हजुर

स्मृतिमा त अझै पनि हामीसंगै हुनुहुन्छ बुवा

अझै पनि हामीसंगै हुनुहुन्छ बुवा

नमन/ प्रणाम पुजनीय पिताजी

हजुरको महाप्रस्थान गरेको आत्मा शान्तिको कामना गर्दै

हार्दिक श्रद्धाञ्जली ͂

You can share this post!