कविता
– रविन्द्रबहादुर सिंह
साना तेजिला केही धर्सेका आँखाहरू
लामालामा रौँ झरेका आखिभौँहरू
ठ्याक्कै मसँग मिल्ने तपाईंको अनुहार
अथवा हजुरसँग हुबहु, मिल्ने मेरो अनुहार
मेरो प्यारो बुबा,
ऐना हेरेजस्तो लाग्छ हजुरको तश्विर हेर्दा ।
संसार नाप्ने तपाईंका खिनौटे पैतालाहरू
प्रथम विश्वयुद्धको गर्जन सुन्ने कान
क्षतविक्षत लासहरू देख्ने आँखा
अनि आफैँलाई घाइते बनाएर
युद्धबाट भाग्ने कायर साथीहरू देखेर
वैराग्यले बन्दुक फ्याँकेर हिँड्ने बुवा!
आँखा भरिएर आउँछन्
आजको दिनमा
तश्विरमा हजुरको मुहार हेर्दा ।
प्रौढ वयमा कसिएको तपाईंको लगनगाँठो
अनि जम्मा भएका हामी लालाबालाहरू
समयले लामो हिँडाइ तय गरे पनि
स्मृतिमा धूमिल नभएको तपाईंको अनुहार
पर डाँडामा बलेको कुनै चहकिलो बत्तीजस्तो
बुवा!तश्विरमा हजुरको मुहार हेर्दा ।
प्यारो बुवा!
तपाईंले ब्यूँझाएको समय अझै साक्षी छ
तपाईंको हातमा भएको लालटिनले
उज्यालो सहरका कुनाकानी साक्षी छन्
पीडामा तपाईंले पुर्याएको राहत
तपाईंले गरेको व्यथाहरूको निदान
हजुर प्रति भएको मानिसको कृतज्ञताभाव
बुबा! एकैपल्ट फक्रन्छन्
श्रद्धाका हजारौँ थुँगा फूलहरू
तश्विरमा हजुरको मुहार हेर्दा ।
गतिवान् समय रोकिने रहेनछ कहिल्यै
वेगवान् नदीजस्तो अविरल ,अविरल
तर सम्झनाहरू अझ वेगवान् हुँदै छन्
तपाईंको सम्झना इन्द्रेनीजस्ता भएर
फैलिरहेको छ मनको आँगनमा
अनायासै आँखाहरू अश्रुयुक्त हुनपुग्छन्
बुबा! तश्विरमा हजुरको मुहार हेर्दा ।
बुबा! अतीतको आँगनमा फर्कँदा
भित्री मन चिमोटिएजस्तो लाग्छ बेस्सरी
विह्वल बन्छ कहालिएको मस्तिष्क
बिर्सन नसकिएका बिस्कुनहरू सम्झनाका
अहो! कति तीव्र छलाङ लगाइसक्यो समयले
लाग्छ म जड भएर बाँचिरहेको छु
मन असाध्य द्रवित भएर आउँछ
बुबा!तश्विरमा तपाईंको मुहार हेर्दा ।
सुम्सुम्याउँछु निक्कै बढेका, हजुरका दाढीहरू
लुटुपुटु हुन्छु तपाईंकै, मायालु काखमा
मगनमस्त हुन्छु हजुरकै,भजनका स्वरहरूमा
चलायमान देख्छु तपाईंका जाँगरिला हत्केलाहरु
आर्द्र भएर कहालिन्छ मन,
कस्तो हुने थियो होला
एकपल्ट मात्र पनि भेट्न, देख्न पाए हजुरलाई
साह्रै नै तिर्खाएको छ, मन हजुरका लागि
बुबा! तश्विरमा हजुरको मुहार हेर्दा ।
अहो!तपाईंको अनुहार,
जीवन्त भन्दा ,जीवन्त भएर
आउँछ मेरो सामु,
तपाईंको तश्विर रङ्ग, उडेर धूमिल भएको छ
धूलधुसरित छ,
तर तपाईंले गरेको रमझम वृष्टि स्नेहको
तपाईंले दिएको अमूल्य संस्कार
तपाईंले देखाएको अद्वितीय जीवनमार्ग
तपाईंका स्नेहसिक्त दृष्टिहरू
तपाईंले फैलाएका आशीर्वादका हत्केलाहरू
अहो! सम्झनाले मात्र पनि कण्ठ अवरूद्ध हुन्छ
बुबा! तश्विरमा हजुरको मुहार हेर्दा ।
बुबा! मेरै काखमा
समयका निष्ठूर हत्केलाहरूले
मेटाइसकेका छन् सबै सुन्दर चित्रहरू अतीतका
बिहानै प्रवाहित हुने तपाईंका सुमधुर भजनहरू
निस्तब्धता चिर्ने हाते पङ्खाको स्वर
कतै कुनै आडम्बर नभएको हजुरको चरित्र
अविरल कार्यशील तपाईंका हत्केलाहरू
खलमा घर्षण गरिरहेको बच्चो
एकएक गर्दै अगाडि आउँछन्
हजुरको अथक श्रमशील जिन्दगी
विभिन्न दृश्य–परिदृश्यहरू
चारै दिशामा हजुरलाई नै देख्छु
अश्रुयुक्त आँखाहरू स्थिर हुन्छन्
तिनै धूमिल तश्विरहरूमा
बुबा!मन व्यथित हुन्छ,
आज बुबाको मुख हेर्ने दिनमा,
तश्विरमा हजुरको मुहार हेर्दा!!