सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोजेको कांग्रेसको आरोप

काठमाडौं, भदौं ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिललाई सरकारले गुटगत प्रचार यन्त्रका रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ ।

सरकारले काउन्सिलमा हालै गरेको कार्यवाहक अध्यक्ष नियुक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसले जिम्मेवारीमा को थिए वा को ल्याइए भन्ने चासो नभएको तर सरकारले काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोजेको आभास भएको जनाएको हो ।

सञ्चार मन्त्रालयले आइतबार दुर्गा भण्डारीलाई काउन्सिल सदस्य नियुक्त गर्दै सोमबार काउन्सिल नियमावली संंशोधन गरी किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक तोकेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘प्रश्न व्यक्तिको होइन विधिको हो, प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको दबाव मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो ।’

सररकाले ठाडै हस्तक्षेप गरी गुटको मान्छेलाई नियुक्त गरेको भन्दै उहाँले लेख्नुभएको छ, ‘सरकारले ठाडै हस्तक्षेपमार्फत काउन्सिललाई नेकपा, त्यहाँभित्र प्रधानमन्त्री निकट गुट, अझ त्यहाँ भित्रपनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमती छ ।’

Image

सरकार नियन्त्रित प्रेसको बाटोमा हिंडेको भन्दै उहाँले पत्रकार महासंघ, प्रेस युनियन र अरु सरोकारवाला संस्थाहरुसँग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा आफ्नो समर्थन नरहने उल्लेख गर्नुभएको छ ।

प्रवक्ता शर्माले कार्यवाहक अध्यक्ष तोक्ने निर्णय फिर्ता लिन सरकारसँग माग पनि गर्नुभएको छ ।

इमेज खबरबाट

You can share this post!