नेकपा विवाद : अब कार्यदलको भर, अहिलेलाई ओलीको संकट टर्‍यो

काठमाडौँ : ‘भोलिबाटै एक, दुई भन्दै काउन्टडाउन सुरु गर्नुस्, ५ दिनभित्र के हुन्छ नेकपाभित्रको सिनारियो देखिन्छ’ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘पाँच दिनमा फेरि मसँग बस्न आउनुस्, त्यसपछि अहिले भनिएका कुराको फेरि उत्तर दिउँला।’   प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद ५ दिनमा टुंगिने डेडलाइन तोकेका थिए। त्यो डेडलाइन आज सकिएको छ। पार्टीको विवाद सकारात्मक दिशामा अघि बढे पनि अझै सहमति जुट्न सकिरहेको छैन। विवादित विषय मिल्न बाँकी रहे पनि यो पटकलाई प्रधानमन्त्री ओलीको संकट टरेको निचोड निकालिएको छ। पार्टीभित्रको विवाद समाधान हुने क्रममा प्रधानमन्त्री ओलीको भनाइअनुसार पार्टीको सिनारियो अलिक फेरिएको छ।

पार्टीभित्रको विवादको कारणले विभाजनको संघारमा पुगिसकेको अवस्थामा अब पार्टी कुनै हालमा नफुट्ने नेताहरुले दाबी गरिरहेका छन्।  पार्टीभित्रको विवाद समाधान गर्नका लागि भन्दै शुक्रबार भएको प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको भेटवार्ताको क्रममा महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल निर्माण गरेको थियो। जुन कार्यदल आज बसेको सचिवालय बैठकले अनुमोदन गरेको छ।  ‘अध्यक्षद्वय निर्माणका गरेको कार्यदल सकारात्मक रुपले लिएको छौँ आजको बैठकले कार्यदल गठनलाई अनुमोदन गरेको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कार्यदलले आज पार्टी र सरकार सक्षम हुने गरि सुझाव दिन सक्नेगरी सुझाव दिन्छ।’  कार्यदललाई प्रतिवेदन बुझाउन छिटो भनिए पनि मिति नतोकिएको उनले बताए। पार्टीभित्रको समस्या समाधानका लागि सहमतिमा महाधिवेशनमा जानुपर्नेमा जोड दिए।  प्रतिवेदनपछि छलफल आजको सचिवालय बैठकमा पार्टीभित्रको समस्याको समाधान गर्न निर्माण गरिएको कार्यदललाई अनुमोदन गर्ने कामलाई महत्वपूर्ण रुपमा मानिएको वरिष्ठ नेता झलनाथ खनालले बताए।  ‘आज बसेको बैठकमा सचिवालय बैठकमा अध्यक्षद्वयले निर्माण गरेको कार्यदललाई अनुमोदन गर्ने काम भयो,’ उनले भने, ‘पार्टीभित्रको समस्या कसरी समाधान गर्न सकिन्छ भन्‍नेबारे छलफल भयो। तर, थप नयाँ बिषयमा छलफल भएन। कार्यदलको प्रतिवेदन आएपछि मात्रै थप छलफल हुन्छ।’ बैठकमै मात्रै सीमित प्रधानमन्त्री ओलीले ५ दिनभित्र पार्टीको विवाद समाधान हुने बताएपछि कार्यदलको पहिलो बैठक शनिबार बस्यो। तर, पहिलो पटक बसेको कार्यदलको बैठकको सुरुवात मात्रै भएको स्थायी कमिटी सदस्य तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए।  

‘शनिबारबाट समस्या समाधान सुझाव कार्यदल बैठक शुरु भएको छ। बैठक सकारात्मक र समस्या समाधान गर्ने विश्वासका साथ अगाडी बढेको छ’ उनले भने, ‘कार्यदलको सुझावपछि पार्टीभित्रको विवाद समाधान हुने अपेक्षा गरेका छौँ। हामी केही दिनमै पार्टीलाई सुझाव दिने तयारी गरिरहेका छौँ।’  एजेन्डामा छैन मन्त्रिपरिषद् हेरफेर  आज बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए। ‘तपाईंहरूले भन्‍नुभएको कुरा मलाई त थाहा छैन’, उनले भने, ‘कार्यदलको रिपोर्ट आएपछि मात्रै अन्य विषयमा छलफल हुन्छ। पहिला वैचारिक र नीतिगत सहमति गरेर त्यस अन्तर्गतका विषयमा निष्कर्ष निकाल्छौँ।’  पार्टीमा मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री फेरबदलका विषय अहिले छलफलमा नभएको उनले प्रष्ट्याए। यस्तै, वरिष्ठ नेता खनालले पनि बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा पार्टीमा छलफल नभएको दाबी गर्छन्।  ‘बाहिर मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा धेरै चर्चा भइरहेको छ। तर, तर, अहिले पार्टीभित्र छलफलमा आइसकेको छैन,’ उनले भने।  विवाद मिलाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेको स्रोतको दाबी छ।

यसअघि पनि प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद समाधान गर्न मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरेका थिए। अहिले पनि पार्टीभित्रको विवाद समाधानका लागि सरकारको चर्को विरोधमा उत्रिएका केही नेताहरुलाई मन्त्रिपरिषद्‍मा समावेश गर्ने तयारी भइरहेको छ। वामदेवको प्रस्ताव नै विकल्प  पार्टीभित्रको विवाद समाधान गर्नका लागि उपाध्यक्ष वामदेव गौतमले गरेको प्रस्तावको वरिपरी समाधानको विकल्प खोज्‍न थालिएको स्रोतको दाबी छ। उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद समाधान गर्न भन्दै प्रधानमन्त्री ओलीलाई यो कार्यकाल सरकारको जिम्मेवारी र अध्यक्ष दाहाललाई महाधिवेशनसम्म कार्यकारी अध्यक्ष हुने प्रस्ताव गरेका थिए। ‘हामीले पार्टीभित्रको विवाद समाधान गर्न उपाध्यक्ष गौतमले प्रस्ताव गरेको पेरिफेरीमा रहेर समाधान निकाल्ने प्रयास गरिरहेका छौँ’ एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँले मध्यमार्गी प्रस्ताव ल्याउनुभएको हुनाले सकारात्मक नै छ। त्यसैले महाधिवेशनबाट समाधान खोज्नुपर्छ भन्‍नेमा जोड दिइरहेका छौँ।’ प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व नचलेको भन्दै अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले स्थायी कमिटीमा राजीनामा मागेपछि विवाद चर्किएको थियो।
source: thahakhabar

You can share this post!