राजमार्गको दुर्दशा

पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडक खण्ड ठाउँठाउँमा भत्किएर धरापजस्तै भएको छ । सुदूरपश्चिमको प्रवेशद्वार मानिने चिसापानीदेखि अत्तरियासम्मको सडक धरापजस्तै बन्दा यात्रा कष्टपूर्ण बन्दै गएको छ ।  

‘चिसापानीदेखि अत्तरियासम्म ठाउँठाउँमा कालोपत्रे फुटेर ठूलठूला खाडल परेका छन्,’ कैलाली मसुरियाका भोजबहादुर मन्नीले भने, ‘कामविशेषले धनगढी जाँदा अत्तरियासम्मको सडकमा कष्टकर यात्रा गर्नुपर्छ ।’ रातिको समयमा मोटरसाइकलको यात्रा त झनै जोखिमपूर्ण रहेको बताउँदै उनले भने, ‘अगाडिबाट ठूलो गाडीले बत्ती बालेर आउँदा त आँखैअगाडिका खाल्डा नदेखिँदा दुर्घटना हुन्छ ।’ बर्खायाममा सडकका खाल्डामा पानी भरिँदा पनि जोखिम थप बढेको उनले बताए ।  

चिसापानीदेखि अत्तरिया सडक खण्डमा पहिलोपटक यात्रा गर्ने सवारीचालकलाई त झनै जोखिम हुने अर्का स्थानीय सुरत रावतले बताए । उनले भने, ‘पहिलो पटक यो सडकमा यात्रा गर्ने यात्रु र चालकलाई ठाउँठाउँमा रहेका खाडलले सास्ती हुन्छ ।’ कामविशेषले अत्तरिया जाँदा सडकका खाल्डैखाल्डाले मोटरसाइकल पन्चर हुने समस्या उस्तै रहेको बताउँदै उनले भने, ‘खाडलैखाडलले मोटरसाइकलको टायर चाँडै खत्तम हुन्छ भने  पन्चर पनि भइरहन्छ ।’  

१० टनसम्मका सवारीसाधनलाई लक्षित गर्दै निर्माण गरिएको पूर्वपश्चिम राजमार्गमा पछिल्ला वर्षहरुमा १८ देखि २० टन सम्म सामान बोकेका गाडी गुड्छन् । क्षमताभन्दा बढी भारका कारण पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडक खण्ड जीर्ण बनेको छ । 

अत्तरियादेखि चिसापानीसम्मको सडकको अवस्था देख्दा सरकार नै नभएको महसुस हुने बताउँदै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले भने, ‘सडकको दुरवस्था देख्दा सडक डिभिजन कार्यालयलाई लाज लाग्नुपर्ने हो, खै के गरेर बसेको छ कार्यालय ।’ आफूहरूले पटकपटक सडक डिभिजन कार्यालयदेखि प्रदेश सरकारलाई राजमार्ग समयमै मर्मत गर्न भने पनि सुनुवाइ नभएको गुनासो उनले पोखे । ‘अत्तरिया बजारको मुख्यचोकमै सडक फुटेर खत्तम भएको छ,’ उनले भने, ‘जीर्ण सडकका कारण अत्तरियाको शोभा नै बिग्रिएको छ ।’ सडक डिभिजन कार्यालयले पूर्वपश्चिम राजमार्गको यो खण्डमा परेका खाडलमा माटो तथा ग्राभेल हाल्दा त्यसले झनै  दुर्घटना बढेको बताउँदै उनले भने, ‘खाडलमा माटो र ग्राभेल हाल्दा वर्षात्को पानीले चिप्लो भई सवारीसाधन चिप्लेर दुर्घटना हुने सम्भावना बढेको छ ।’  

तत्कालीन समयमा १० टनसम्मका सवारीसाधनलाई लक्षित गर्दै निर्माण गरिएको पूर्वपश्चिम राजमार्गमा पछिल्ला वर्षमा १८ देखि २० टन सम्मका मालबाहक गाडी गुड्छन् ।  

यसले गर्दा सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए । उनले भने, ‘क्षमताभन्दा बढी भार थेग्न नसकेका कारण पनि राजमार्ग टुटफुट भएको हुनसक्छ ।’ हरेक ४÷५ वर्षमा रिसोलिङ गर्नुपर्ने सडक पछिल्लो पटक भने रिसोलिङ नगरिएका कारण पनि सडक बिग्रिएको उनले बताए । उनका अनुसार बजेट समयमै नआएका कारण पछिल्लो समयमा रिसोलिङ नगरिएको हो ।  

नियमित सडक मर्मत गर्न २०७५ फागुनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो । तर गत चैत पहिलो साता केही स्थानमा मर्मतको काम भए पनि लकडाउन सुरु भएपछि रोकिएको निर्माण कम्पनीका सञ्चालक गणेश जोशीले बताए ।  

‘अहिले बर्खाको समय भएकाले यो अवधिमा कालोपत्रेसहितको मर्मत गर्न सकिन्न,’ उनले भने, ‘राजमार्ग मर्मतको काम वर्षात् कम भएपछि मात्रै सुरु हुन्छ ।’ चिसापानीदेखि अत्तरियासम्मको सडक मर्मतका लागि १५ करोड ९० लाख रूपैयाँ ठेक्का सम्झौता गरिएको हो ।  

पूर्वपश्चिम राजमार्ग जीर्ण बन्दै गएपछि पछिल्लो समयमा कैलालीमा सडक दुर्घटना बढेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीका अनुसार चैतदेखि साउन मसान्तसम्म जिल्लामा सडक दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन् । जिल्लामा हुने दुर्घटनामध्ये झण्डै ७० प्रतिशत पूर्वपश्चिम राजमार्ग खण्डमा हुने गरेको जानकारी दिँदै उनले भने, ‘ठाउँठाउँमा खाडल परेका कारण बढी दुर्घटना पूर्वपश्चिम राजमार्ग खण्डमै हुने गरेका छन् ।’

Source: nagariknews.com

You can share this post!