सुकुम्वासीहरूकाे वस्तीमा अागाे लगाउने सरकारलाइ अखिल नेपाल भुमिहिन सुकुम्वासी संघकाे चेतावनी

चितवन राष्ट्रिय निकुञ्जले सुकुमबासीहरूको उठीबास लगाएपछि उनीहरूको यथाशीघ्र व्यस्थापन गर्न अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ नेपालले माग गरेको छ । यही साउन ४ गते चितवनको माडी नगरपालिका कुसुम खोलामा रहेको सुकुमबासी बस्तीमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गर्नुका साथै हात्ती लगाएर सबै घर भत्काइदिएको भन्दै अखिल नेपाल सुकुमबासी सङ्घले उक्त कार्यको विरोध गर्दै उनीहरूको यथाशीघ्र व्यस्थापन गर्न माग गरेको हो ।

सुकुमबासी सङ्घका केन्द्रीय उपाध्यक्ष मीनराज गिरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बर्सात्को मौसममा अर्को कुनै व्यवस्था नगरी टहरामा आगो लगाएर उठीबास बनाइएका सुकुमबासीहरूको तत्काल व्यवस्थापन गर्न माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट खोलभित्र लुकेको दलाल केपी–प्रचण्ड मण्डलीको घिनलाग्दो चरित्र उदाङ्गो भएको छ । राज्यको यस्तो घृणित र तुच्छ हर्कतप्रति घोर भत्र्सना र निन्दा व्यक्त गर्दछौँ । आगो लगाएर टहरा जलाई उठीबास बनाइएका सुकुमबासीहरूलाई क्षतिपूर्तिसहित यथाशीघ्र व्यवस्थापनका लागि राज्यसँग जोडदार माग गर्दछौँ । सुकुमबासीका टहरा जलाउनेहरूसँग क्रान्तिको प्रक्रियामा उचित हिसाब–किताब गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

०५३ सालदेखि बस्दै आएका सुकुमबासी (चेपाङ समुदाय) को बस्तीमा आगो लगाइएपछि अविरल वर्षाको बेला सुकुमबासीको उठीबास भएको छ ।

साथै विज्ञप्तिमा कोरोना महामारीका कारण सङ्घर्षका कार्यक्रम स्थगित गरी जनसेवा, जनभेटघाट र जनतासँग निरन्तर छलफलमा रहेको बेला असार ३१ गते कैलालीको फूलबारीबाट सुकुमबासी सङ्घका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनलाई दलाल सरकारले गिरफ्तार गरी झूट्टा मुद्दामा फसाउन लागेको भन्दै ससम्मान रिहाइको माग गरिएको छ ।

You can share this post!