समाज भित्र ‘म’ र ‘दलित’

दिपु चौधरी

आज म यो लेख लेख्न विवस भएको छु । किनभने चौतर्फि रुपमा भैरहेको जातिय आन्दोलनलाई देखेर एउटा युवा केहि नबोलि बस्नु म आफै माथि अन्याय हुनेछ । नेपालमा १० वर्षे जनयुद्ध र २०६२÷२०६३ को जनआन्दोलन पछि नेपाली जनताहरुलाई लाग्यो अबका दिनहरुमा नेपाल विकास तिर लम्किनेछ र समाजमा समान अधिकार, समान नेतृत्व, समान शिक्षा, समान मौलिक हक अधिकार, समान सम्मान आदि इत्यादि । तर सैद्धान्तिक र व्यावहारिक पाटो फरक हो भनेर सिद्ध भैरहेको छ ।

नेपालको समाजमा रहेका विभिन्न समस्या मध्ये एउटा जातिय समस्या हो । समाजमा हजारौं बर्ष देखि यो छुवाछुत जस्तो कुरिति चल्दै आइरहेको छ । यसको निर्मुलिकरणका लागि समय समयमा विभिन्न आन्दोलनहरु भैरहन्छन् । तर त्यो सिमित कुरामा स्थगित हुन्छ र छुवाछुत ज्युँका त्युँ रहन्छ । यो आलेख अगाडि बढाउन शिर्षकको पृष्ठभुमिा जाऔँ । समाज भित्र ‘म’ । मेरो बारेमा कुरा गर्दा मैले के भनेर तर्क राख्ने ? म दलित हुँ भनेर ? म नेपाली हुँ भनेर ? म दमाई हुँ भनेर ? म तराईको मधेशी हुँ भनेर ? म गरिब हुँ भनेर ? म बेरोजगार युवा हुँ भनेर ? म अर्धशिक्षीत विद्यार्थी हुँ भनेर ? के भनेर ????

तर जे भने पनि मेरो तर्क मैले राख्न पाउनु पर्छ । किन कि म सर्वप्रथम मानिस (मन्युष्य) हुँ । एउटा मानिसले अर्को मानिसलाई केवल मानिस नै देख्ने हो । तर जब त्यहाँ नाम आउँछ, तब उ नामले चिनिन्छ । जब व्यवहार उस्को हेर्दछौं, तब उ राम्रो कि नराम्रो भनेर चिनिन्छ । जब जातको कुरा आउँछ, त्यहाँ उसको वर्ग, संस्कृति, रितिरिवाज, भेषभूषा आदि इत्यादि झल्किन्छ । तर यहाँ ठ्याकैं उल्टो छ । यो घटना २०७३ सालको हो । म एउटा कलेजमा विद्यार्थी थिए । त्याहाँ १, २ जना बाहेक कसैलाई मेरो थर थाहा थिएन । मलाई सबैले राम्रो मान्थे, नयाँ विद्यार्थी देखी अग्रज विद्यार्थी सम्म, कक्षा शिक्षक देखि कलेज प्रमुख सम्म, किनभने म गीत गाउँथे, कविता लेख्थे, पढ्नमा पनि ठिकठाक थिएँ, राजनिति पनि अलि अलि राम्रै थियो, यस्तै आदि इत्यादी कारणले म राम्रो साथी, भाई, विद्यार्थी थिएँ । तर जब स्नातकतहको पहिलो वर्षको रिजल्ट आयो र म पास भए तब मेरो प्रमाण पत्रमा त्रिभुवन विश्वविद्यालयले दिपेश दमाई भनेर लेखेको थियो । त्यो दिन देखि सबैले मेरो थर थाहा पाए र म एउटा अछुत विद्यार्थी भएँ । जुन माया मैले पाउँथे त्यो पाइन र ………. थुप्रै घटना भए र मैले यो बुर्जुवा शिक्षा रोकिदिएँ । किन भने जुन शिक्षाले मलाई ‘म’ होइन कि दमाई, दलित, मधेशि, अछुत भनेर चिनाउँछ त्यो शिक्षा म किन लिने ? (तर विडम्बना हाम्रा अगुवाहरु, अग्रजहरु यहि शिक्षा चाहियो भनेर आन्दोलन गरिरहेकाछन् ।)

मानिसको सबैभन्दा मुल्यवान बस्तु, चिज जे भनेपानि त्यो आत्म सम्मान हो । सम्मानले नै मानिसको जिवनमा धेरै महत्व राखेको हुन्छ । सम्मान भएन भने मानौ मानिस पानी विनाको माछा जस्तै हुन्छ । सम्मान कुनै जात वा जातिले मिल्ने कुरा होइन, यो त आफैले बनाउने वा कमाउने कुरा हो । मानिसले जति राम्रो काम गर्छ त्यति धेरै सम्मान पाउने कुरा हो । अपराधिलाई कसैले पनि सम्मान दिदैन, यो कुरा त सबैलाई थाहा छ । तर यहाँ बुझनै गाह्रो ।

कुरा २०७५ सालको हो मेरो जिवन पहिलो चोटी श्रम सँग जोडिदैँ थियो । म काम सिकदैं थिए । मेरो काम र सिक्ने तरिकाबाट सबै जना खुसी थिए, ग्राहक देखि अफिसका ओनर सम्म । काम सिकीसके पछि मेरो नाम सँग एउटा श्रम को नाम पनि जोडियो ‘दिपेश डिजाइनर’ । त्यो सम्मान पाएर म खुसी थिए । मेरो दिनहरु राम्रै चलिरहेको थियो । जब नेपाल सरकारले पान सिस्टम ल्यायो र कम्पनिमा तलब, भत्ता आदि सबै बैंकीङ कारोबार गर्नुपर्ने भयो तब उहाँहरु लगाएत केहि ग्राहकहरुले पनि मेरो थर थाहापाए, त्यो दिन देखि ……..ऊफ…….कुरै नगरौं मैले त्यो कम्पनि छोडि दिए । (तर बिडम्बना हाम्रा अग्रजहरु, अगुवाहरु कुन सम्मानको लागि लडिरहेका छन् ? दिपेश दमाई वा दिपेश डिजाइनर ? त्यो यात मैले नबुझेको हुँ वा हाम्रो अग्रजहरुलाई थाहा छैन ?)

यस्ता थुप्रै घटनाहरु छन् जुन भनेर साध्य छैन तर एउटा घटना जुन मैले भन्न जरुरी छ । यदि यसको अर्थ अन्य नलगाएमा वा नलागेमा । मानिस समाजमा बस्दा जिवन चलाउन र समाज अगाडी बढाउन गर्ने पर्ने कार्य मध्ये एउटा विवाह हो । विवाहले दुई व्यक्ति जोड्नुका साथै दुईवटा समाजलाई पनि जोड्छ । जसले गर्दा ति व्यक्तिहरुको अस्तित्व स्थापित हुन्छ । मानिसले आफ्नो अस्तित्व समाजमा कायम गर्न विवाह जस्तो सजिलो माध्यम वा पद्धति बनाएको छ, जुन प्रसंसा योग्य छ । यस कार्यले मानिसलाई एक ठाउँ बााट अर्को ठाउँमा सजिलै आफ्नो अस्तित्व निर्माण गर्ने ठाउँ दिन्छ । मानिसको लागि अस्तित्व बनाउने थुप्रै माध्यमहरु मध्ये सजिलो र विश्वासनिय माध्यम मलाई यहि लाग्छ । यसलाई दुईवटा समाजको जोड्ने विन्दु भन्दा फरक पर्दैन होला ।

विवाहले मानिसलाई एकले अर्काको सँस्कृति बुझ्ने, सद्भाव मेलमिलाप गर्ने, मौलिक संस्कार र सँस्कृति बुझ्ने मौका दिन्छ । यो सवैले गर्नै पर्ने वा मान्नै पर्ने चलन वा कुरा हो । मानिसहरुले एकले अर्कालाई बुझ्नु पर्छ अनि समाज विकासीत हुन्छ र नयाँ समाजको उदय हुन्छ । हाम्रो देश, समाजको कुरा गर्दा ठ्याक्कै उल्टो छ ।

यो घटना २०७५ सालको अन्तिम तिरको हो मेरो जिवन संगिनि नेपालको पुर्व इलामको हुनुहुन्छ । वहाँ सँग विहे हुनुभन्दा पहिला हामी उहाँको (माइति) घर गयौं । त्यहाँ हाम्रो स्वागत सोचे भन्दा राम्रो गर्नुभयो । उहाँहरुले पूर्वेली सभ्यता, संस्कृती वुझ्ने मौका दिनु भयो । त्यहाँको रहनसहन, भेषभूषा आदि इत्यादी बुझ्ने मैले राम्रो मौका पाएँ । उहाँ हरुले पनि पश्चिमको मान्छे भनेर राम्रै व्यवहार गर्नु भयो । उहाँहरुले पश्चिमेली भनेर पश्चिमको रितिरिवाज, संस्कृति, संस्कार आदिको बारेमा म सँग सोध्नु भयो र मैले बताए । उहाँले छोरा जस्तै गर्नु भयो । मलाई लाग्यो हाम्रो देशको पूर्वतिर विकासित सोच भएका मानिसहरुको समाज रहेछ । तर जब विहेको कुरा भयो, त्यहाँ चिना मिलाउने समय आयो र चिनामा नाम, थर सोधियो मैले पनि ढुक्क सँग दिपेश दमाई भने तब मानौं…………………………. मैले शब्द भेट्टाईन । त्यस पछि उहाँहरुले विहेको लागी सिधै हुन्न नभने पनि उहाँहरुले भन्नु भयो ‘भाई हामी यो समाजमा बस्नु पर्छ, भोली गएर यो समाजमा हाम्रो घरमा दाजुभाई आउन छोड्छन्, हाम्रो घरको पानि छोड्छन्, हामीलाई समाजले बहिस्कार गर्छ’ यो सुनेर मलाई थाहा भयो कि वास्तवमा यो छुवाछुत कुनै व्यक्तिको वा कुनै ठाउँको कुरा होइन यो त त्यो थर को कुरा हो जस्ले म अछुत हुन्छु । (तर बिडम्बना हाम्रा अग्रजहरु, अगुवाहरु के का लागी लड्दैछन् ? संस्कृति (पश्चिमेली) का लागी वा दिपेश दमाईका लागी ? यो कुरा यात मैले बुझेको छैन वा अग्रजहरु, अगुवाहरु, अभियान्ताहरुले ।)

अब कुरा गरौं समाज भित्र ‘दलित’ । के हो यो दलित भनेको ? कस्ले बनायो यो दलित शब्द ? कस्ले निर्माण ग¥यो दलित वर्ग ? मेरो अध्ययन र मेरो विचारमा यो शब्द कोल्मबिया युनिभर्सिटी र अक्सफोर्ड युनिभर्सिटीले खोजी गरेको शब्द हो । जसको अर्थ समाजमा पिछडिएका, हेपिएका, चेपिएका व्यक्तिहरुलाई दिइएको उपशब्द हो । यो शब्द कुनै जाति विशेषलाई दिइएको शब्द होइन । युरोपमा जब गुलामहरु किनबेच गरिन्थ्यो वा अमेरिकामा काला जातिहरुलाई किनबेच गरिन्थ्यो त्यो बेला भएका विभिन्न आन्दोलहरुले तिनिहरुलाई स्वतन्त्र बनायो र त्यहाँका विद्धानहरुले दलित शब्द निमार्ण गरे जुन समाजमा पिछडिएका, हेपिएका, चेपिएका व्यक्तिहरु समाजमा स्थिापित गर्न, एकिकृत गर्न प्रयोग गरिन्थ्यो । अहिले त्यो युरोप तथा अन्य मुलुकमा त्यत्ति प्रचलनमा छैन । तर जब यसको बारेमा डा. भिमराव रामजी अम्बेडगर ले अध्ययनको क्रममा आफ्नो थेसिस (भारतमे जातिप्रथा) मा छुवाछुत गरिएको जातिलाई प्रतिविम्ब गर्ने शब्द दलितको प्रयोग गर्नु भएको थियो । जुन अहिले सबैले प्रयोग गर्छन् ।

भारतको आजाद भारत आन्दोलनको बेला डा. भिमराव रामजी अम्बेडकरले यो छुवाछुत प्रथा हटाउन दलित शब्दको प्रयोग गरेर आन्दोलन गर्नुभयो । जसले एकहद सम्म छुवाछुत पिडितहरुलाई राहत मिल्यो । तर बिडम्बना केहि आरक्षण कोटा र केहि राजनैतिक सिट दिएर आन्दोलन तुहाइयो । डा. भिमराव रामजी अम्बेडगर जे जति गरेपनि छुवाछुत हट्ने स्थिति नभए पछि धर्म परिवर्तन गरेर बुद्ध निति मानेर आफ्नो चित्त बुझाउन बाहेक अरु विकल्प रहेन । डा. भिमराव रामजी अम्बेडगरको मृत्यु पश्चात भारतका हर कार्यालयका भित्ताहरुमा उहाँको फोटो टाँस्ने काम गरियो ।

नेपालको सन्दर्भमा पुर्खौ देखि चलिआएको यो कुरिति छुवाछुतको मुल जरा हिन्दु धर्मको स्मृती भित्र रहेको मनुस्मृती हो । मैले यस्तो भनिरहँदा धर्म विरोधी, डलरबादी कृस्चीयन भनेर भन्नुहोला । तर म सफा रुपमा के भन्न चाहन्छु भने । म सनातन धर्म मान्छु तर हिन्दु धर्म नै होइन कसरी मान्नु मान्दिन, किन की हिन्दु भनेको हिमालय बाट र सिन्धु घाटिँ बाट आएका मानिसहरु भारतमा बसोबास गरेकाले ब्रिटिसहरुले हिन्दु भनेका हुन् यो कुरा डा. भिमराव रामजी अम्बेडगरको भारतमे जातिप्रथा मा लेखिएको छ साथै डा. जाकिर नाइक ले पनि व्याख्या गर्नु भएको छ । यदि हामी हिन्दु धर्म मान्ने हो भने हामी गलत कुरालाई पछ्याउदैं छौं । यदि यस्तो हो भने नेपालमा मानिने धर्म नेपाली धर्म हो । तर हाम्रो धर्म सनातन धर्म हो । जसमा दुईटा भाग छ, पहिलो श्रुती (बेद, उपनिषद) जुन ऋषिमुनिहरुले तपश्याबाट प्राप्त ज्ञानहरु लेखेका हुन्, भने दोस्रो स्मृती (महाभारत, भगवतगीता, रामायण, पुराण, मनुस्मृति) जुन मानिसहरुले लेखेका हुन् । र हामीलाई हाम्रै धर्म बाट टाढा राखियो । किनभने पहिले देखिनै हामीलाई श्रुतिको ज्ञान दिइएन । केबल स्मृतिको ज्ञान दिइयो । हाम्रो समाजमा मनुस्मृति जस्ता अधार्मीक किताबहरु घोकाइयो जस्को परिणाम अहिले तपाईहामीले भोग्नु परेको छ । यसको उदाहण अहिलेको रुकुम नरसंहार जस्ता कैंयौं घटनाहरु छन् । जसको कारणले हामी अछुत भएका छौं । जसको कारणले सनातन धर्म धमिलो फोहोर पानि भएको छ । अन्त्यमा मेरो निष्कर्ष हामी पौडिखेल्न सक्छौं भनेर समुन्द्रमा हाम फालिरहेका छौं । जुन एकदम गलत छ । समुद्र मा जानको लागी हामी पहिला तयारी गर्नु जरुरी छ ।

You can share this post!