दुखी तेत्तीस कोटीहरु

नमिता दवाडी

मनमा असीमित रहरहरूको घम्सा घम्सी,
खुसीका गन्तव्यहरु ,
कल्पनाको फराकिलो क्षितिज ,
सुनै सुनले ढाकिएको लंका,
आलिशान महलको भव्य कुर्सी,
नाम अगाडि जोडिने सफल व्यक्ति
जाबो यत्ति सपना पुरा गर्न के मात्र गरिनँ!

ढुङ्गाकै भए पनि भगवान तेरो जय जयकार गरिरहेँ,
धन्न थोरै भेटी ,नैवेद्य, प्रसादकै भरमा ,
मख्ख परेर भनिदिइस्
तथास्तु ! मेरो कामनामा।
र,
दिइस् एक झोली अन्धकार !
अनि दोहोर्‍याइस् उही गल्ती ,
परापुर्ब काल देखि गर्दै आएको,
मलाई त हुन सम्मको फाइदा भयो ,
धन्यवाद तेरो अकर्मण्यतालाई !
तेरो बिबेक हिनतालाई ! ढुङे भगवान !

तँ सँगको सम्बन्ध र बार्तालापलाई यहीँ छाडेर
गर्दै छु म बिशेष प्रस्थान,
हिमाल, पहाड र मधेस तिर ,
बोकेर उही एक झोला अन्धकार,
थाहै छ ,
अँध्यारोमा सब थोक सहज हुन्छ ,
लेनदेन, बार्तालाप ,बिच्छेद
नाङ्गिनु , नङ्ग्याउँनु यी सब।
हो ! छर्नु छ धुलो अब ,
सगरमाथा झैँ ठिङ्ग उभिएको ,
जन स्वाभीमानका आँखामा
अनि ल्याउनु छ अन्धमस्टी रात
लोभ , मोह अनि गुलामीको।

यो मनको सँघारबाट धकेलेर,
तँ कथित परमात्मालाइ,
भित्र्याउनु छ मलाई तेत्तीस कोटि ,
किम जोँग ,
नेता सुहार्तो ,
ओसामा विन्लादेन,
जोसेफ स्टालिन,
एडोल्फ हिटलर आदि आदि मेरा भगवानहरु!!
जो मलाई तपस्यारत राखुन् ,
महानिर्देश गर्न सकुन्
छाउन अन्धकारमुखी निराशा ,
हरेक मन बचनमा
र म धित मारेर, मन खोलेर हाँस्न सकुँ !
हा हा हा !!
मेरो विजयको हासो!!

हे भगवान , हे तेत्तीस कोटीहरु हो ,
खोला तरेर लठ्ठी बिर्सने,
त्यति कठोर पनि छैन म !
थोरै गुन तिम्रो बरदानको म पनि तिरुँला,
तिमीले भर्न नभ्याएका पापका घडाहरु भरेर ,
पुरा नगरेका केही काम पुरा गरेर,
यो शुभकार्य त्यहीँ बाट शुरु गर्नेछु ,
जहाँ पाण्डव पतीहरुले द्रौपदीको सतित्व
कौडामा हारेपछी ,
जङ्गल र खोलामा केरा नङ्ग्याए झैँ ,
गोपिनी नङ्ग्याउने
ढोँगी कृष्णको ढोँगले ,
लम्ब्याएको द्रौपदीको फरियाको गज घटाउनेछु,
दुस्साशनले नङ्ग्याउँन नसकेका
द्रौपदीहरुको पातलो कुमारी झिल्ली च्यातेर ,
उद्घाटन गर्नेछु यो कार्यको,
र जीवन पर्यन्त भ्यायसम्म तिम्रो
वरदानको सोझो यसरी नै गर्नेछु।
अब त मुस्कुराउ!
हे दु:खी तेत्तीस कोटि हो!!

You can share this post!