वली सरकारकाे राष्ट्रघाती सृंखला एमसीसीमा राेकिनुपर्छ

निगम भण्डारी

अहिले वैदेशिक प्रतिक्रियावादी शक्तिको मिलिमतोमा नेपालमा विविध नाजायज स्वार्थ पूरा गर्ने खेलमा प्रमुख राजनीतिक दल प्रतिपक्षी र सत्ताधारीहरु लिप्त छन् । ती प्रमुख राजनीतिक दलका संगठनका युवा विद्यार्थीहरु पनि भारतीय विस्तारवाद र अमेरिकन साम्राज्यवादसँग आफ्ना विविध स्वार्थ पूरा गर्ने दाउको पर्खाइमा छन् । साम्राज्यवादी विस्तारवादी शक्तिद्वारा राष्ट्रियताको लडाइँ परिवर्तनका विरुद्धमा निरन्तर प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको छ । इतिहासलाई फर्केर हेर्ने हो भने नेपालमा विभिन्न शासकले राज्य सत्ता चलाउदै आए । कहिले राणा शासन त कहिले प्रजातन्त्रको नाममा देशको शासन चलिरह्यो । जबदेखि देशमा राणा शासनको पतनसँगै देशमा प्रजातन्त्रको उदय भयो त्यहीबेला देखि नेपालमा भएका नदी नाला विकासको नाममा असमान राष्ट्रघाती सन्धि सम्झाैताको सुरुवात भयो । ती असमान राष्ट्रघाती सम्झौता गर्नुको मुख्य कारण नेपाली जनतालाई दास बनाइ राख्न र आफ्नो सत्ता टिकाउनकै लागी गरिएका थिए ।
वि.सं. २०११ सालमा मातृका कोइरालाले कोशी सम्झौता गरे । त्यो सम्झौताले कोशी आसपासका १ लाख भन्दा बढी जनता प्रभावित भए । वि.सं. २०१६ सालमा तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाले गण्डकी सम्झौता गरेका थिए । नेपालीको सबैभन्दा ठूलो राष्ट्रघाती गण्डकी सम्झौतामा नेपालकाे पानीमा सबै अधिकार भारतको भयो । बिपीले कालापानीमा भारतीय सेना तैनाथ राख्ने सम्झौता गरेका थिए । वि.सं. २०४६ पछि सबै भन्दा बढि नेपालको राजनीतिमा हालीमुहाली गरेका गिरिजा कोइराला २०४८ सालमा दिल्लीमा गएर प्रभु मेरो सत्ता बचाइ दिनु पर्यो तपाईंलाई कोशेली टनकपुर भयो भनेर भारतीय विस्तारवादका अगाडि घुडा टेकेर टनकपुर सम्झौता गरेका थिए । माथिल्लो कर्णाली परियोजना, सेती पश्चिम परियोजना र अरुण परियोजना समेत गिरिजा र सुशीलले सम्झौता गरेका थिए । देशभित्र भएका कलकारखाना काङ्ग्रेसहरुले बेचेर खाएका छन् । काङ्ग्रेसबाट देशको विकास हुन्छ भन्नु भनेको महामुर्ख हुनु हो । यी काङ्ग्रेसहरुबाट न विकास हुन्छ न निकास हुन्छ ।

बेलाबेलामा राष्ट्रिय स्वाधीनताको निकै उखान टुक्का हानेर जनता हसाउने र भुल्याउने कुरा गर्ने खलनायक केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद बिस्तारै बिस्तारै नाँगिदै छ । नेपाली जनतालाई महाकाली सन्धिले एक अर्ब वार्षिक फाइदा हुन्छ भनेर जनतामा भम्र छरी महाकाली बेचेका थिए । वि.सं. २०५३ असोजमा केपी, माधव र शेरबहादुरले संसदबाट रातारात अनुमाेदन गरि लाखौँ लाख जनताको विरोध हुदाहुदै महाकाली सम्झौता गरेका थिए । आज यसको प्रत्येक्ष प्रभाव नेपालीहरुले भोगिरहेका छन् । महाकाली बेच्नेहरु राष्ट्रवादी हुदैनन्, हुन्छन् भन्नु यो कल्पना बाहिरकाे कुरा हो । बेला बखतमा राष्ट्रिय स्वाधीनताको निकै कुरा उठ्छ तर बिस्तारै बिस्तारै सेलाउदै जान्छ । भारतसित सन् १९५० लागाएतका असमान सन्धि सम्झौता छदै छन् । आज यसैको परिमाण स्वरुप नेपाल भारतीय विस्तारवादको सिकार हुँदै आएको छ । भारतीय विस्तारवादले छ महिना अगाडि आफ्नो देशको राजनीतिक नक्सा जारी गरेको थियो । नक्सामा हाम्रो देशको भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा राखेको थियो । अहिले मानसोरोबर जाने बाटो उद्घाटन गरिसकेको छ । हाम्रो देशको नालायक सरकार अहिलेसम्म टुलुटुलु हेर्दै बसेको छ ।

सरकारको चौतर्फी विरोध भएपछि र सरकार बचाउनकै लागि भए पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा जारी गरेको छ, यो स्वागतयोग्य छ । सरकारले संविधान संशाेधन मन्त्रीमन्डलबाट पारित गरि संसदमा ल्याएर रोकिएको छ । दुई तिहाइ बहुमत हुदाहुदै पनि संविधान संशाेधन नहुनु हामीलाई काङ्ग्रेसले गर्न दिएन भन्नु जस्तो लज्जास्पद अरु के होला ? यसबाट प्रष्ट छ खोक्रो राष्ट्रवाद हो भनेर । केपी ओली भनेका भारतीय विस्तारवादको छोटा भैय्या हुन् । यसमा कुनै दुई मत छैन । तपाईं हामी भम्रमा नपर्दा हुन्छ । नेपालीमा प्रधानमन्त्री हुन्छन्, पहिलो भम्रण भारत गर्छन र भारतीय विस्तारवादका अगाडि ब्रिटिसहरुले जबर्जस्ती लादेको बडापत्र अनुसार सपथ खाएर फर्किन्छन् । यो दलाल संसदिय व्यवस्था भित्रको नालायकपन एउटा उदाहरण हो ।
यतिखेर कोभिड 19 ले विश्व नै आतंकित भएको छ । नेपाली जनता त्यसको पीडामा छन् । जनता आक्रान्त भएको बेला एमसिसि छिटोभन्दा छिटो पास गरि अमेरिकी साम्राज्यवादलाई नेपालीको स्वाधीनतामाथी हस्तक्षेप हुने गरि नेपाली भूमि अमेरिकन साम्राज्यवादलाई बुझाउन हतार गर्दै छन् । इतिहासदेखिका असमान सन्धि सम्झौता, सिमासमस्या, व्यापार असुन्तलन र पारवहन समस्या छदै छन् । देशभित्र समस्या हुदाहुदै पनि यतिले मात्र पुगेन भनेर मिलेनियम च्यालेच्ज कर्पोरेसन अर्थात MCC भित्र्याउन खोज्दैछन् । एमसिसि नेपालका लागि राष्ट्रघाती सम्झौता हो । एमसिसि भनेको अमेरिकाले चीनलाई एक्ल्याउनका लागि अधि सारेको इन्डो प्यासिफिक रणनीति हो । एमसिसिको नाममा अमेरिकाले नेपालमा आफ्नो सैन्य क्याम्प खडा गरेर चीनसँगको नेपालीको सम्बन्ध कटौती गर्ने रणनीति पनि हो । नेपालमा एमसिसि परियोजनाक्रममा उत्पन्न हुने बौद्धिक सम्पतिमा अमेरिकाको मात्र एकाअधिकार हुनेछ । यसमा नेपालको कानुन लागू हुने छैन । नेपालले भारत संग स्वीकृति लिनु पर्ने यस्ता धेरै कुराले एमासिसि नेपालीको राष्ट्रियता विपरीत छ । यसलाई तुरुन्त खारेज गरियोस् । यसमा युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहनेछ । युवा विधार्थी राष्ट्रियताको विषयमा एक ठाउँमा हुन आवश्यक छ ।

दलाल संसदिय व्यवस्था भित्र अल्झेर रहेका कोहि पनि राष्ट्रवादी छन् भन्ने मलाई लाग्दैन । नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमिरिका जानू जस्तै हो भन्नेहरु यहि गणतन्त्रका कार्यकारी प्रधानमन्त्री छन् । ती प्रधानमन्त्रीबाट देशको मुहार कसरी फेरिएला र ?संसदिय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो भन्ने एकाध व्यक्ति त्यही दलाल संसदिय व्यवस्थामा छन् । यो दलाल संसदिय व्यवस्थाबाट नयाँ नेपाल, समृद्ध नेपाल र समाजवादी नेपालको अपेक्षा राख्नु भनेको “आकाशको फल आँखा तरी मर ” भने जस्तै हुन्छ । दलाल सरकारको नुन खाएर मात्तिएको गुन्डाको नाइके केपी गुट्को एेन महरले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई केही आरोप लगाएको छ । देशको अस्मितामाथी खेलवाड तिमीहरुले गरेका छौ । फेरि साँढे हुन खोज्दैछौ । तिमीहरु देशको र जनताका समस्या बनेका छौ । देश र जनताका समस्या भनेको हाम्रो पार्टीको समस्या हो । समस्याको अन्त्य हाम्रो पार्टीले गर्नेछ । नयाँ नेपाल, समृद्ध नेपाल र वैज्ञानिक समाजवादी नेपालको परिकल्पना एकीकृत जनक्रान्तिबाट हल हुनेछ । यसकारण नेपालको राष्ट्रिय स्वाधीनताको लडाइका लागि युवा विद्यार्थी एक ठाउँमा हुन आवश्यक छ ।

लेखक अखिल क्रान्तिकारी ललितपुर जिल्ला उपाध्यक्ष हुन

You can share this post!