भारतले नेपाली भुमि मिचेपछि तात्यो सेना,रेक्की गर्न कर्णेलको नेतृत्वमा छाङरुमा सैनिक टोली

काठमाडौं–दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना भएसंगै नेपाली सेनाले पनि उक्त क्षेत्रमा रेक्की सुरु गरेको छ । सेनाको अपरेशन विभागमा कार्यरत महासेनानी ज्योतिन्द्र महतको कमाण्डमा सैनिक टोली दार्चुलाको सदरमुकाम हुंदै छाङरुसम्म रेक्कीको लागी पुगेको हो ।

नेपाली सेनाको टोली बुधवार सेनाको स्काई ट्रकबाट नेपालगंज र त्यहाबाट सेनाको सानो हेलिकोप्टरमा दार्चुला पुगेको थियो । दार्चुलामा मौसमका कारण छाङ्रु जान नसकेपछि सेनाको दार्चुलामा रहेको एमआई-१७ हेलिकोप्टरबाट उक्त टोली कालापानी क्षेत्रमा पुगेको थियो ।
सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डले छाङरुसम्म पुग्ने गोरेटो बाटो सेनाले तत्काल निर्माण थाल्ने तयारीको लागी सैनिक टोली त्यहा पुगेको बताए ।

कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि सरकारले विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राख्ने निर्णय गरेको थियो । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६० जनाको फौज वरावरको गुल्म राख्ने गरी तयारी गृह मन्त्रालयको छ ।

नेपाली सेनाले पनि उक्त क्षेत्रमा आफ्नो उपस्थिती बढाउने तयारी गरेको स्रोतको दावी छ । सेनाको सुदुरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मल थापाले पनि दार्चुलाको भ्रमण गरेर वस्तुस्थितीका बारेमा जानकारी लिएका छन् ।

भारतले कालापानी क्षेत्रमा नेपाली भुमिमा सैनिक ब्यारेक खडा गरेको तर नेपाली सेनाले सिमा सुरक्षामा चांसो नदिएको भन्दै जनस्तरबाट आलोचना भइरहेको बेला सेनाको टोली कालापानी नजिक पुगेको हो । उक्त टोलीको नेतृत्व सेनाको अपरेशन विभागमा कार्यरत महासेनानी ज्योतिन्द्र महतले गरेका थिए । टोलीमा सेनाको प्राविधक महासेनानी डाक्टर अजयराज भण्डारी र सेनाकै अर्का एक इन्जिनियर समेत सहभागी थिए ।  उक्त टोली त्यहा जानुको कारण स्पष्ट नभएपनि सैनिक मुख्यालयको निर्देशनमा उनिहरु रेक्की गर्न गएको बताइन्छ ।

टोलीले सेनाले निर्माण गर्ने भनेको सड्क, छाङ्रु आसपासका क्षेत्रमा रहेका नेपाली नागरीकहरुको अवस्था र सुरक्षा अवस्थाको बारेमा जानकारी लिएको स्रोतको दावी छ । दार्चुला–तिंकर सडकको निर्माण कार्य धिमा गतिमा भएको भन्दै सरकारले गत वैशाख १४ मा उक्त सड्क बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

राष्ट्रिय महत्वको दार्चुला तिंकर सडकको निर्माण कार्य विभिन्न वहानामा ढिलाई भइरहेको बेला घांटिबगरदेखि टिंकरसम्मको ८७ किलोमिटर सडकको निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएसंगै सेना सक्रिय भएको हो । विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर नजिक शसस्त्र प्रहरीको बीओपीको स्थापना भएसंगै सेनाले पनि सड्क निर्माणलाई तिव्रता दिने तयारी गरेको हो ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । नेपाली सेनाले पनि तिंकरसम्म पुग्ने सड्क तिव्र गतिमा बनाउने र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको सैनिक स्रोतको दावी छ ।

काठमाडाै पाटीबाट साभार

You can share this post!