भारतलाई नेपालबाट धपाउन सम्पूर्ण विकल्प प्रयोग गरौँ : जनअधिकार अभियान

काठमाडौँ : जनअधिकार अभियान नेपालले नेपालबाट भारतीय सेना फिर्ता गराउन र निरन्तर भारतले गरिरहेको अतिक्रमण रोक्न सम्पूर्ण विकल्पहरू प्रयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ । अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले प्रेस वक्तव्य जारी गर्दै भारतले नेपालमाथि लामो समयदेखि सैनिक राख्ने, भूमि मिच्नेलगायत अतिक्रमण गरिरहेकाले अब यो क्रम अन्त्य गर्न नेपालले जनताको सहयोग लिएर सबै विकल्पहरू खुला राख्नुपर्ने धारणा अघि सारेका हुन् ।

अध्यक्ष भण्डारीले अगाडि भनेका छन्, ‘विश्वभर कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिरहेको अवस्थामा भारत सरकारले नेपालका लिपुलेक, कालापानीसमेतका भूभागमा अतिक्रमण गरी सडक बनाई हालै मात्र त्यसको उद्घाटनसमेत गरेको विषयले सम्पूर्ण देशभक्त नेपालीलाई आक्रोशित तुल्याएको छ । यसअघि सन् २०१५ मा महाविनाशकारी भूकम्पको चोटबाट नेपाल र नेपाली थला परिरहेको अवस्थामा पनि नेपाललाई जानकारी नै नदिई भारत र चीनले लिपुलेक भारत र चीनको व्यापारिक नाकाका रूपमा रहने गरी द्विपक्षीय सम्झौता गरी नेपालीलाई स्तब्ध पारेका थिए ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘भारत सरकारले नेपालको पश्चिम सिमानाका रूपमा रहेको काली नदीलाई आफ्नो भूभागमा पारी कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपालको भूभागमा अतिक्रमण गरी सेना बसाई बाटो निर्माण गर्ने भारत सरकारको यस किसिमको साम्राज्यवादी, विस्तारवादी चरित्र एवम् दादागिरी शैलीको जनअधिकार अभियान नेपाल घोर भत्र्सना एवम् निन्दा गर्दछ । नेपालको उक्त भूभागबाट भारत सरकारले आफ्ना सेना तुरुन्त फिर्ता गरी नेपालको भूभाग खाली गरोस् ।’

वक्तव्यमा भनिएको छ, ‘त्यसरी नै विगतदेखिका सन्धि, सम्झौता, अन्तर्राष्ट्रिय कानुन र मान्यताको विरुद्ध हुने गरी भारत सरकारले यस किसिमका हर्कत निरन्तर गर्दै आइरहेकोमा यसप्रति नेपाल सरकारले पनि तत्कालीन समयमै कुनै प्रभावकारी एवम् परिणाममुखी कदम नउठाई लाचारीपन देखाई निरीह भैरहेको सरकारको यसप्रकारको निरीहताप्रति जनअधिकार अभियान नेपाल दुःख व्यक्त गर्दै खेद प्रकट गर्दछ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डताप्रतिको यो ठाडो हस्तक्षेपका विरुद्ध एवम् राष्ट्रियताका पक्षमा सम्पूर्ण नेपाली एक भई नेपालको मिचिएको आफ्नो जमिन फिर्ता लिनेतर्फ नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सम्पूर्ण विकल्पको प्रयोग गरी अघि बढौँ भनी राष्ट्रवादी एवम् देशभक्तलगायत सम्पूर्ण नेपालीलाई जनअधिकार अभियान नेपाल हार्दिक आह्वान गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

You can share this post!