[ हिंड जाउँ ]

बि पि बिद्रोही

****************
यो बर्षादको याम होइन
ए ! रोपारे दिदि
त्यो आकाशमा लागेको बादल
झरिकोलागि होईन
त्यो बिस्तारबादी अतिक्रमणको तुवाँलो हो
ए ! हलि र बाउसे दाइहरु हो
अर्को साल बनाउला दबदबे हिलो
अनि रोपौंला छुपुछुपु धान
यो साल बरु भोकै लडौँला
हिंड , जांउ कालापानी रास्टियताको बीउ रोप्न !

यो ठेकेदारको घर पलास्टर गर्ने समय होइन
फालिदेउ ए ! मिस्त्री दाइ रुक्सा र जाबेल
बोक गैंची र बेल्चा
जाँउ मानसरोवरको बाटो भत्काउन

यो नाम्लोको बरियो बुन्ने याम होइन
ए भरिया दाइ !
फ्याँकिदेउ भातमारा साहुको भारी
दुइचार साँझ भोकै बसौंला बरु
हिंड् धार्चुला बारुदको बोरा बोक्न जांउ।

अर्को साल लेखौंला फुलको कबिता
ए ! कवि साथी
जाँउ लिम्पियाधुरा
लालसेनाको सेल्टर बनाउन
ए ! शिल्पकार साथी
अर्को साल बनाउल भानुभक्तको मुर्ती
यो समय जाँउ लिपुलेक
सहिद छापामारको शालिक बनाउन

शासकले कहिले बचाएको छ र देश ?
शासकहरु सिंहदरबार मात्रै बचाउछन
यो मुलुक बचाउने त तपाई हामिले नै हो ।
जाँउ ।
हिँड जाँउ…..


You can share this post!