सुरक्षित बसौं तर मानवजातिको साझा सुरक्षाको चिन्ता गर्न नछोडौ

ईन्द्र बिक्रम साउद

कोरोना भन्दा, दलाल पूजीवाद खतरानाक । मलाई यो समय मानव जाती लगायत समग्र प्रकृति र प्राणी जगतको अस्तित्वको लागि कोरोनाभन्दा ठूलो दुश्मन पूँजीवाद हो भन्ने गहिरो अनुभूति भैरहेको छ । म हेरिरहेको छु, त्यसो त तपाईहरू पनि हेरिरहनु भएको छ कि, कोरोनाले हायलकायल भैरहेको समयमा पनि इरानमाथिको प्रतिवन्ध खारेज गर्न अमेरिकी साम्राज्यवादको दुष्ट आत्मा मानिरहेको छैन । इटली जीवन र मृत्युको दोसाँधमा छटपटाइरहदा सिङ्गै युरोप आँखा चिम्लेर बसेको छ । क्युवामाथिको अमानवीय प्रतिवन्ध यो समय पनि जारी छ । विश्वव्यापी महामारी कोरोना विरुध्द लड्न एकजुट हुनुको बदला कोरोना विरुध्दको खोपको कपी राइटको चिन्ता सुरु भएको देखिएको छ । आपसी भाइचारा र सहकार्यको जरुरी हुने यो समयमा देशहरू आफ्ना सीमानाहरू बन्द गरेर अनि नागरिकहरूलाई घरघरमा थुनेर बसेका छन् । लामो समयको बन्दाबन्दी लागू गर्दा आम सर्व साधारणले कसरी हात मुख जोर्छन भन्ने सामान्य ज्ञान प्राय शासकहरूका दिमागबाट बेपत्ता भएको छ ।

यही समयमा कालोबजारी, कृतिम अभाव र मूल्यवृध्दिको मार थपिएको छ । अलपत्र परेका नागरिकहरू हजारौं किलोमिटरको यात्रा गरेर भोकै नाङ्गै घर फर्कन विवश छन् । बाटोमा पर्ने मान्छेहरू उनीहरूलाई गाऊको बाटो हिड्न नदिन लठ्ठी बोकेर बसेका छन अनि देशभित्र छिर्न नदिन आफ्नै देशको सरकार सीमानामा बन्दूक बोकेर बसेको छ । मान्छेहरू घरभित्र कैद छन । कसैको घरमा लास पर्यो भने मलामी नपाउँने अवस्था छ । निजी अस्पतालहरूले ज्वरो आएका विरामीलाई पनि अस्पतालको गेटैबाट फिर्ता गरेका र अरु कैयन सरकारी अस्पतालले पनि बिरामी भर्ना गर्न नमानेका खबरहरू आइरहेका छन ।

चिकित्सकहरूका लागि अत्यावस्यक सूरक्षा कवच तथा कोरोना जाँज गर्ने किटको अभाव देखिएको छ र र देशका स्वास्थ्य मन्त्री – “यो पिपिई भन्ने नाम भर्खर सुन्दै छु” भनेर गैह्र जिम्मेवार तथा नालायक चरित्र प्रदर्शन गर्दैछन । देश यत्रो ठूलो स्वास्थ्य शंकटको सामना गरिरहेको समयमा त्यो खाले आलु स्वास्थ्य मन्त्रीको ग्वाँच स्तरले यो शंकटको सामना कसरी होला भनेर नागरिकहरू चिन्तित छन । दैनिक अठार घण्टा खट्नु पर्ने समयमा प्रधान मन्त्री आराम गर्नै पर्ने अवस्थामा छन । उनलाई प्रधान मन्त्रीको पद बोकेरै मर्न मन छ ।

विश्वव्यापी हाहाकारको यो समयमा चीन र क्युवाले आफूलाई फरक तरिकाले प्रस्तुत गरेका छन । कोरोना शंकटबाट भर्खरै राहत पाएको चीन आफ्नो विशाल फौज र औषधि बोकेर इटली पुगेको छ भने नाकाबन्दीले आक्रान्त क्युवा पनि आफ्नो शक्तिशाली टीम सहित इटली पुगेर विश्व बन्धुत्वको परिचय दिईरहेको छ । राजनीतिक हिसावले हाल जे जस्तो भए पनि चीनले समाजवादी चरित्रको पहलकदमी लिएर कोरोनाको ढाड भाँचेर इटली पुगेको छ भने क्युवाले त यस अघि नै चिकित्सा सहायतामा आफूलाई विश्वको उत्कृष्ट देश सावित गरिसकेको छ । यी दुई देशमा रहल पहल रहेको समाजवादी पूर्वाधारले नै आफ्नो देशको शंकट हल गर्न र अरु देशको शंकटमा साथ दिन मद्दत गरेको हो भन्ने प्रष्ट भैसकेको छ । विद्यमान अवस्थाले फेरि विश्वलाई के भनिरहेको छ भने—-

● अकुत नाफाको लागि मान्छे र प्रकृतिलाई शोषण र दोहन गर्ने पूँजीवाद मानव द्वेशी तथा प्रकृति द्वेशी छ।

● पूँजीवादको नेतृत्वमा यस खाले चूनौतीको सामना गर्न एकदमै गाह्रो छ ।

● यस खाले शंकटले अन्तत: र मूलत: गरीवहरूलाई अभाव भोकमरी थप ऋण तथा रोगको दोहोरो तेहेरो चपेटामा पार्छ ।

● पूँजीवाद आत्माहीन ब्यवस्था हो र त्यसले आफू जस्तै ब्यवस्था भएका देशको दुखमा पनि साथ दिदैन ।

● पूँजीवादले हरेक कुरामा नाफा मात्र सोच्छ । परोपकार, सहकार्य भातृत्व जस्ता कुरा जन्मने ग्रन्थीहरू ऊ सँग हुदैन ।

● यस्तो भयावह अवस्थामा पनि नाकाबन्दी लगायत अमानवीय अत्याचार नहटाएर पूजीवादी देशहरूले उनीहरू मानवताका भयानक दुश्मन हुन भनेर प्रमाणित गरेका छन ।

● कुनै एउटा देशले मात्रै हल गर्न नसक्ने यस खाले विपत्तिको सामना गर्न समाजवाद नै एउटा मात्र विकल्प हो ।

हामी सवै चिन्तामा छौं । हामी मध्य श्रमजीवीहरू बढी चिन्तामा छौं । धनीहरूलाई व्यावसायिक घाटा तथा कोरोनाको चिन्ता छ भने गरीवहरूलाई भोकले मरिन्छ कि भन्ने पुरानै चिन्ताले अझ बढी सताएको छ । रोग र विपत्तिले धनी गरीव भन्दैन भन्ने कुरा सत्य होइन । अहिलेको कोरोना महामारी होस या विगतको भूकम्पको कहर होस सवै भन्दा बढी दुख गरीवहरूले नै पाएका थिए । कच्ची घर बढी गरीवकै थिए । त्रिपालमुनी भोकै र लामो समय बस्नु परेको गरीवले नै थियो र ऐले पनि गरीवहरेका भान्सामा चामल दाल नून तेल र तरकारी सकिदैछ । मध्यम तथा उच्च बर्गले त एक दुई महिनाको तयारी गरेर लकडाउनको गीत गाएर अरुलाई उपदेश दिएर बसेको छ । तर भरे भोलिबाट भोकै पर्ने परिवारलाई सरकारले के सोचेको छ ? सायद केही सोचेको छैन । लक डाउनको समय सीमा महिनौं बढ्न सक्छ । अवस्था अहिले भन्दा बिकराल बन्न सक्छ।त्यस्तो भयो भने पनि नागरिकहरू भोकै नहोउन भन्ने सरकारसँग के रणनीति छ ? यस्तो लाग्छ – पूँजीवादसँग यस्ता प्रश्न सोध्नु भनेको आफूलाई जंगलको राजा हुँ भन्ने सिंहसँग “खडेरी लागेर घाँसको अभावमा मिर्गहरू खान नपाएर मर्ने भए भने तिनलाई बचाउने तपाईसँग के तयारी छ ? भनेर सोध्नु जस्तै हुने छ ।

You can share this post!