सेनाले चीनबाट ३४० टन स्वास्थ्य सामग्री ल्याउने

७ वैशाख, काठमाडौं । नेपाली सेनाले चीनबाट ३ सय ४० टन स्वास्थ्य सामग्री ल्याउने भएको छ । नेपाली सेनाको जंगीअड्डाले आइतबार दिउँसो नेपालस्थित चिनियाँ दूतावासमार्फत सम्झौता पत्र हस्ताक्षर गरेर चीनलाई पठाएको हो ।

पत्रमा चीनको तर्फबाट हस्ताक्षर हुन बाँकी छ ।

‘चीनबाट हस्ताक्षर भएर आएपछि सोमबार रकम पठाउँछौं’, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘कति रकम पठाउने र कुन विधिबाट पठाउने भन्ने भोलि नै टुंगो लाग्नेछ ।’

सरकारले स्वास्थ्य सामग्री खरिदका लागि सेनालाई बजेट सिलिङ दिएको थिएन । मन्त्रिपरिषदले स्वीकृत गरेको सामग्रीलाई सोही अनुरुप भुक्तानी दिने भनिएको थियो ।

चीनसँग दुईपक्षीय सम्झौता र भुक्तानीपछि चीनको गोन्जाओबाट सेनाले पीपीई, मास्क, ग्लोब्ससहित अन्य आवश्यक स्वास्थ्य सामग्री ल्याउनेछ ।

ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता विवादमा आएपछि १६ चैतमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको थियो । मन्त्रिपरिषद बैठकले सेनालाई जिटुजी (सरकार–सरकार) प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्न भनेको थियो ।

त्यसलगत्तै जंगीअड्डाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि बिक्री गर्न प्रस्ताव राखेको थियो । तीमध्ये चीन र भारतले मात्र स्वीकृति जनाएका थिए । इजरायल र सिंगापुरबाट कुनै जवाफ आएको थिएन ।

नेपाली सेनाले खरिदको जिम्मा पाएको ७ दिनपछि पत्रकारहरुसँग भिडियो कन्फरेन्स गर्दै यथाशिघ्र विवादरहित रुपमा स्वास्थ्य सामग्री ल्याउने घोषणा गरेको थियो ।

भारतबाट ५३ प्रकारका औषधि आउने

जंगीअड्डाको खरिद इकाइले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउने गरी प्रक्रिया अघि बढाएको थियो । जसअनुसार भारतले दिल्लीस्थित नेपाली दूतावासमा ती औषधि जम्मा गरिदिनेछ । र, त्यहाँबाट नेपालमा औषधि ल्याइनेछ ।

हालसम्म दूतावासमा औषधि जम्मा भइसकेको छैन । ‘अहिले पहिलो प्राथमिकतामा स्वास्थ्य सामग्री परेको छ, त्यसपछि भारतबाट औषधिका लागि थप फलोअप गर्छौं’, एक सैनिक अधिकृतले भने, ‘हालसम्म ५३ प्रकारका स्वास्थ्य सामग्री पठाउने भन्ने टुंगो लागेको छ ।’

यसअघि भारतले चैत दोस्रो साता कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको थियो । भारतको सशस्त्र बल चित्किसा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले सहयोगका लागि र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार भएको बताएका थिए ।

तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपचारभन्दा पनि स्वास्थ्य उपकरण आवश्यक भएको जवाफ फर्काएका थिए ।

स्वास्थ्य विभागले पनि ल्याउँदैछ औषधि

सेनालाई खरिदको जिम्मा दिने निर्णय पनि विवादमा तानिएपछि स्वास्थ्य सेवा विभागबाट पनि छुट्टै खरिद प्रक्रिया अघि बढिरहेको छ । जसका लागि विभागले ३ वटा कम्पनीसँग सम्झौता गरिसकेको छ ।

शुक्रबार विभागले ओम सर्जिकल, हाम्रो मेडी कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग २९ देखि ३० करोड रुपैयाँ बराबरको सामान ल्याउने गरी सम्झौता गरेको थियो । सम्झौताको पहिलो साता आंशिक र दोस्रो सातासम्ममा सबै सामग्री ल्याउने गरी सहमति भएको थियो ।

विभागले प्रयोगशालाका लागि चाहिने सामान, सेनिटाइजर र थर्मोमिटर खरिदका लागि भने छुट्टै सम्झौता गर्ने जनाएको थियो । यो सम्झौतामा मुख्यतः पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) समेटिएका छन् ।

अनलाइनखबर बाट

You can share this post!