कोरोना महामारीमा मजदुर प्रति उदासिन देखिएको सरकार

राकेश दाहाल

गरिबहरु रुँदै हिंडिरहेका छन र भन्दै छन- चुनाब त आउन देउ । महामारीको बेलामा हामीलाई घर जान व्यवस्थापन नगर्ने, रासन पनि आफ्नो मान्छेलाई मात्र दिने ! भोटको बेलामा देखाउँछौं ।  ऐतिहासिक अनुभवका आधारमा भन्नू पर्दा नेपालको सन्दर्भमा चुनाव पछि, अमुल्य भोट दिने आफ्नो जनतालाई लात हानेको इतिहास पुष्टि भईसकेको सत्य हो ।

चुनावको बेलामा आफ्नो विपक्ष उमेदवारको र उसको पार्टीको आलोचना गर्ने र मुख्यत: गरिब तथा पिछडिएको वर्गहरुको एजेन्डालाई देखावटीमा भएपनि आत्मसात गरे झैं गरेर जनताको घरदैलोमा जाने, आफ्नो कार्यकर्ताहरुलाई मासुभात-रक्सी-सुकुटी खुवाउने, मोटरसाइकलमा पेट्रोल हाल्दिने । र अन्ततः चुनाव जित्ने र आफ्नो र आफ्नो आसेपासेलाई काखीमा च्यापेर कमाउ धन्दामा लाग्ने । यो नै अहिलेसम्मको चक्रिय खेल हो ।

जुनसुकै पार्टी, चाहे त्यो सत्तारूढ नेकपा वा नेपाली काङ्ग्रेस होस, चाहे समाजवादी पार्टी; उनीहरुको ताल देख्दा एउटै देखिन आउँछ । किन आज नेपालमा यो महामारीको संकटमा पनि पैताला चाटने मात्र रासन पानी पाउने ? किन महामारीको बेला गरिबहरु पैदल यात्रा गर्दै घर जानू पर्ने बाध्यता छ ? आखिर धनीहरु ५ तारे होटेलमा लन्च डिनर वाइन खाँदै गर्दा गणतन्त्रको पक्षमामा बोल्दा गोलि खाने तिनै गरिब वर्ग हैनन र ? अनि तिनीहरुको नै बलिदानी, त्याग र तपस्याले लिएर आएको गणतन्त्रको उपभोग गर्ने अधिकार तिनीहरुलाई नै छैन र ? यी सबै कुराको मुल्यांकन गर्दा लाग्नै थाल्यो कि यो हुँदाखाने वर्गको भन्दा हुनेखाने पुँजीपती बर्गको रहेछ ।

साँच्चै भन्नू पर्दा, संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो नै हो भन्ने कुरा २१ औं शताब्दीमा थप पुष्टि नै भएको होकि ? यदि यसरी नै नेपाली गरिब जनताको अधिकार खोस्न तिर लाग्ने हो भने यो दमन र जनताप्रति अनुत्तरदायीले पक्कै विद्रोह न जन्माउला भन्न सकिँदैन । अझै भन्नू पर्दा त्यो दमनबाट निस्केको विद्रोह रक्तपात पनि न होला भन्न सकिँदैन । किनकि मानव इतिहास वर्ग संघर्षको ईतिहास हो ।

लेखक सहिद क. राजनको सुपुत्र हुन्

You can share this post!