वर्तमान राज्य सत्ता र युवाहरुको दायित्व

ईन्द्र बिक्रम साउद

विद्यमान राष्ट्रिय परिस्थितिलाई दुई तरिकाले हेर्नुपर्छ । पहिलो कुरा वर्तमान राज्य सत्ता कसरी अगाडि बढिरहेको छ ? र दोस्रो तरिका त्यसका विरुद्धको जनप्रतिरोध कसरी विकसित भईरहेको छ ? भन्ने हिसाबले बुझ्नुपर्छ । वर्तमान सत्ताको आर्थिक आधार संरचना सामन्तवादी प्रकारको भए तापनि मुलभुत रुपमा दलाल पुँजीवाद नै छ । यसरी आधार संरचनामा दलाल पुँजीवादको बर्चस्व देखिन्छ । यो अवस्थामा शासकहरुले दलाल पुँजीको संरक्षण गर्नु पर्ने भएकाले शासकहरु र जनताबिचको अन्तरसम्बन्ध अलग थलग भईरहेको छ । दलाल पुँजीपति र उत्पिडित नेपाली जनताबिचको प्रतिद्वन्द्वीता बढेको छ । यो नै अहिलेको प्रमुख अन्तरविरोध बन्न पुगेको छ ।

केन्द्रदेखि स्थानिय स्तरसम्म सबै कथित जनप्रतिनिधिहरुको एउटै उद्देश्य जनतालाई लुटखसोट गर्नु र दलाल पुँजीको रक्षा गर्नु हुन पुगेको छ । खासमा भन्ने हो भने अर्थतन्त्रमा ८७ प्रतिशत विदेशी वस्तुमा नेपाली बजार र यँहाको अर्थतन्त्र निर्भर छ भने त्यो कसको अर्थतन्त्र हो ? नेपालको होईन भन्ने त प्रस्टै भयो नै । यसले पनि के साबित गर्छ भने देशमा दलाल अर्थतन्त्र छ । त्यसकारण राज्यसत्ता पनि दलाल पुँजीवादी भयो । तसर्थ दलाल पुँजीवादको अन्त्य गर्न विशेषत: युवाहरुको परम कर्तव्य र दायित्व बन्न पुगेको छ । यो ऐतिहासिक एवंम  महत्वपूर्ण कडीमा युवाहरु कहिं कतै अल्छी,लाचारी एवंंम् अकर्मण्यतामा रुमलिनु भनेको राष्ट्रिय आत्मसमर्पणको पन्नामा कैद हुन पुग्नु हो । यसमा युवाहरुले विशेष ध्यान पुर्याउन आवश्यक छ ।

हामी युवा हुनुको नाताले त्यो कुरा बिर्सिनु हुँदैन, जो विगतका युवाहरुले गरेको योगदान, संघर्ष र बलिदानको ऐतिहासिक विरासतलाई जहाँ हामी बसिरहेका छौं, जहाँ हामी मुक्तिकामी एवंम् बलिदानीपूर्ण संघर्षको मैदानमा हामफाली रहेका छौं, यो अग्रिम विचारसँग उँहाहरुको रगतको नाता जोडिएको हुनाले यो प्रकारको यथार्थ कुरा बिर्सिनु हुँदैन । विश्वव्यापी युवाहरुको भुमिकाबारे यत्रतत्र-सर्वत्र तपाईं हामी सबैलाई अवगत नै छ । चाहे त्यो विश्वयुद्द एवंम अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सवाल होस् चाहे नेपाली कम्युनिस्ट आन्दोलन २००६ साल देखि ०५२- ६२/६३ को संयुक्त जनआन्दोलन सम्मको सन्दर्भ होस् विविध कालखण्डको दौरानमा युवा पुस्ताले अग्रणी योगदान, संघर्ष र बलिदानको कोटा पुर्ति गर्दै आएको छ ।

सवाल त्यो होइन, कि हामीले के पायौं के गुमायौं । सवाल यो हो, कि अबको हाम्रो कार्यभार र दायित्व के हो ? नेपाल विगत लामो समय देखि प्रत्येक्ष उपनिवेशिक अवस्थामा नरहे पनि नवउपनिवेेशिक अवस्थामा रहि आएको छ, सैद्धान्तिक तरोबरबाट हेर्दा उपनिवेश भनेको प्रत्यक्ष विदेशी सेना आएर यहि नेपालको हावा पानी माटोमा शासन गर्ने कुरा हो भने नवउपनिवेश भनेको हेर्दा स्वतन्त्र हुने तर त्यसको अर्थराजनिती चाहिँ विदेशबाट नियन्त्रित एवंम् निर्देशित हुन्छ । त्यसको समग्र समाधान वैज्ञानिक समाजवादबिना अर्को कुनै विकल्प छैन ।

तथाकथित काङ्ग्रेस, डबल नेकपा लगायतका संसदवादी समुहहरुले भन्ने गरेका छन्- कथित संसदिय व्यवस्था नै अन्तिम व्यवस्था हो । यो कुरा अत्यन्तै झुट एवंम् विज्ञान विपरित तर्क हो । कुनै पनि वस्तुको आवधिक प्रणाली हुन्छ र वस्तु यथास्थिति एवंम् जस्ताको त्यस्तै रहन सक्दैन, यो विज्ञानले पुष्टि गरेको कुरा हो । दलाल संसदिय व्यवस्था अन्तर्गत संचालित सामाजिक दलाल फाँसिवादी सरकारको विभिन्न ओहदामा बसिरहेका नालायकहरुले पटक-पटक नेपाली जनता र राष्ट्रप्रेमी युवाहरुलाई ढाँटछल गरिरहेका छन् । आफुहरुले गरेका कमिकमजोरी र विविध काण्डहरुलाई विषयान्तर गर्न र आफ्नो असली कालो कर्तुतलाई ढाकछोप गर्न वास्तविक दलाल पुँजीवादका नायिके केपि-पिके गिरोहहरुले विभिन्न कानुनी संयन्त्रका तानाबाना बुनिरहेका छन् , भने उत्पिडित राष्ट्र, जनता र युवा-विद्यार्थीका मुक्तिकामी एजेन्डा उठान गर्ने विश्व सर्वहारा वर्गहरुको हस्ति असली क्रान्तिकारी पार्टी माथि अघोषित प्रतिबन्ध थुपारिरहेका छन् ।

इतिहासले के कुरा पुष्टि गरेको छ भने प्रतिबन्ध लागेको शक्ति भन्दा लगाउने शासकहरुको अन्त्य निश्चित भएको छ । चाहे त्यो राणाहरुको सवाल होस, चाहे त्यो निरङ्कुस पन्चायती शाषकहरुको होस, चाहे त्यो राजा ज्ञानेन्द्रको सवाल होस् वा विभिन्न कालखण्डका सवालहरुले के यथार्थता सावित गर्छ भने मर्ने बेला कमिलाको प्वाँख आउँछ भन्ने कुरा सावित गर्दछ, यस संकटकालिन, चुनौतिपूर्ण एवंम् ऐतिहासिक घडिमा साँच्चिकै युवाहरुले आफ्नो मन मस्तिष्क र भावनामा जोस जाँगर उमङ्ग र आक्रोशको ज्वाला दन्काउनै पर्दछ, राष्ट्रघात, जनघात, भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण-दमन, विकृती-विसंगति र यथास्थितिवादका विरुद्ध विद्रोह गर्ने चेष्टा राख्नै पर्दछ ।

त्यसैले युवालाई भविष्यको कर्णधार त्यतिकै भनिएको होइन, अग्रगामी विचारलाई आत्मासाथ गरेर वर्तमान अवस्थालाई रुपान्तरण गरि भविष्यको निर्धारण गर्ने भएको हुनाले युवा पुस्तालाई भविष्यको कर्णदार भनिएको हो । तसर्थ विश्वभरि संस्थागत एवंम् व्यक्तिगत कामको सिलसिलामा आबद्ध आम नेपाली युवा साथिहरुले वास्तविक नेपालको हावा पानी माटो सुहाउँदो वैज्ञानिक कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत मक्किएको कथित दलाल संसदिय व्यवस्थाको चिहान खनेर वैज्ञानिक समाजवाद स्थापना गरि सर्वहारा वर्गको अधिनायकत्व कायम गरेर साम्यवादमा जाने महान कार्यमा अथक योगदान पुर्याउनु आजको आवश्यकता बन्न पुगेको छ । अनि मात्र देशभर वैज्ञानिक समाजवाद र विश्वभरि साम्यवादको किरण छाउनेछ, र सबै उत्पिडनमा परेका शोषित-पिडित डाक्टर, ईन्जिनियर, प्रोफेसर, पाईलट, देशभक्त कर्मचारी, पत्रकार, कलाकार, युवा, विधार्थी, महिला, दलित, जाति-जनजाति, मधेशी, मुस्लिम लगायत आम नागरिकले मुक्तिको आभास पाउनेछन् ।

लेखक नेकपा निकट युवा संगठनकाे केन्द्रीय सदस्य तथा अछाम जिल्ला अध्यक्ष हुन 

You can share this post!