डलरको भाउ ११९ रुपैयाँ पुग्यो: युरो, पाउण्ड पनि बढ्न थाल्यो, कोरोनाले सर्वाधिक सस्तो रुपैयाँ

Image result for pics of dollor currency with nepali currency

काठमाडौं। अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो भएको छ। पछिल्लो दुई सातामा डलरको भाउ पाँच रुपैयाँले उक्लिसकेको छ।

बुधबारका लागि नेपाल राष्ट्र बैंकले डलरको आधार मूल्य ११८ रुपैयाँ ९० पैसा तोकेको छ। हिजो ११८ रुपैयाँ ८६ पैसा तोकेको थियो। यसअघि डलरले ११८ रुपैयाँलाई छोएको मात्र थियो। अहिले भने ११९ रुपैयाँ हाराहारी पुग्न लागेको हो।

लामो समय ११४ रुपैयाँको हाराहारीमा रहेको डलर अघिल्लो सातादेखि निरन्तर बढ्न थालेको हो। ११४ को हाराहारीमा रहेको डलर आइतबारसम्म ११८ रुपैयाँमाथि उक्लिएको छ। 

चीनबाट फैलिएको नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्। यही बीचमा सुनको मूल्य पनि बढ्न थालेको छ। 

कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ। लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन्। 

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। तर यसपाली कोरोनाका कारण डलरको भाउ बढेपनि नेपाली रोजगारीमा रहेका मुलुकहरु पनि यसबाट प्रभावित देखिएकाले ती देशबाट नेपाली फिर्ता पठाइन सक्छन्। यसो हुँदा रेमिटेन्समा आधारित आय घट्न सक्छ।

Source: bizmandu.com

You can share this post!