बास्कोटा विप्लव समूहको टार्गेटमा रहेको पूर्वसूचना थियो प्रहरीलाई

२८ फागुन, काठमाडौं । बुधबार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’समूहलाई प्रतिवन्ध लगाएको ठीक एक वर्ष पुगेको छ । विप्लव समूहलाई प्रतिवन्ध लगाएको वर्ष दिनमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा विप्लव समूहको टार्गेटमा पर्छन् भन्ने सूचना प्रहरी अधिकारीले पाएका थिए ।

त्यसैले बन्दै गरेको घरको सुरक्षामा सशस्त्र प्रहरीका सईको कमाण्डमा दुई जना प्रहरीलाई सुरक्षाका लागि राखिएको थियो । तर, उनीहरुले विष्फोटक पदार्थ राखिएको सुइँकोसमेत पाएनन् ।

जसका कारण भक्तपुरको मनहरा फाँटस्थित बास्कोटाको घरमा बम विष्फोट भएको छ । पूर्वसूचना हुँदाहुँदै पनि बास्कोटाको घरको पूर्वतर्फको पर्खालभित्रै बम राखेर विष्फोट गराइएको छ । यसले सुरक्षा संयन्त्रमा गम्भीर प्रश्न उब्जिएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी सविन प्रधानले भने, ‘हामीले नियमित रुपमा कुनै पनि ठाउँमा कुनै पनि प्रकारको घटना हुन्छ भन्ने अनुमान पनि गर्छौं र त्यही अनुमानको आधारमा सर्टेन एरिया कभर गरिराखेको हुन्छ । पूर्वसञ्चारमन्त्री ज्यूको घरचाहिँ अलिकति थ्रेटमा छ भन्ने महसुस गरेर हामीले २४ सै घण्टा ड्युटी तैनाथ गरेको अवस्था पनि थियो ।’

सुरक्षाका लागि असईको नेतृत्वमा २ प्रहरी खटाइएको भए पनि विस्फोटको समयमा भने १ जना प्रहरी जवानमात्र ड्युटीमा थिए ।

यद्यपि अहिलेको विष्फोट कसले गरायो भन्ने खुलिसकेको छैन । यद्यपि प्रहरी अधिकारीहरुले यस विष्फोटमा विप्लव समूहकै हात रहेको अनुमान गरेका छन् ।

Source: onlinekhabar.com


You can share this post!