भरतपुरको फायरिङ रेन्जमा इन्स्पेक्टरले प्रेमिकालाई सिकाए गोली हान्न राउतलाई सचेत गराएर घटना सामसुम पार्ने प्रयास

एक साताअघि चितवनको भरतपुरस्थित तालिम शिक्षालयमा नयाँ भर्ना भएका प्रहरी सहायक निरीक्षक (असई) हरूलाई बन्दुक चलाउन सिकाउने भनेर नजिकैको फायरिङ रेन्जमा लगिएको थियो।

असईहरूको कमाण्ड गर्दै भरतपुर तालिम शिक्षालयले प्रहरी निरीक्षक किरण राउतलाई खटाएको थियो। 

फायरिङका बेला बाहिरबाट मानिसहरू फाइरिङस्थलमा लैजान पाइँदैन। तर असईहरूलाई बन्दुक चलाउने तरिका सिकाउन गएका प्रहरी निरीक्षक राउतले आफ्नी प्रेमिकालाई पनि बोलाएर फायरिङ गर्न दिएको खुलेको छ।

त्यो दिन असईहरूलाई फायरिङका लागि २० राउण्ड गोली छुट्टाइएको थियो। असईहरूका लागि छुट्याइएका तिनै गोलीबाट राउतले आफ्नी प्रेमिकालाई फायरिङ गर्न दिएको स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। 

प्रहरीले यो घटनामा राउतलाई सचेत गराएर सामसुम पार्न खोजेको थियो।

भरतपुर तालिम शिक्षालयका प्रमुख एसएसपी बुद्धिराज गुरूङले फौजमा कहिलेकाहीँ प्रशिक्षकले आफूले नहानेर आफन्तलाई गोली हान्न दिने चलन पहिलादेखि नै रहेको बताए। यसलाई सामान्य रूपमा लिनु पर्ने उनको भनाइ छ। तर पछिल्लो समय यस्तो चलनलाई आफूहरूले निरूत्साहित गर्ने गरेको एसएसपी गुरुङले बताए।

प्रहरी तालिम शिक्षालय हेर्ने बागमती प्रदेशका प्रहरी प्रमुख किशोरकुमार दाहालले यस विषयमा कुनै जानकारी नआएको बताए।

केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले यसरी प्रशिक्षकले बाहिरी मानिस फायरिङ रेन्जमा लगेर गोली हान्न दिन नमिल्ने बताए।

‘यस विषयमा म बुझ्छु,’ उनले सेतोपाटीसँग भने, ‘गोली हान्न दिएको भए प्रहरी निरीक्षकमाथि कारबाही हुन्छ।’

Source: setopati.com

You can share this post!