सुनको मूल्य निरन्तर उकालो, प्रतितोला ७६ हजार पुग्यो, चाँदी ९ सय २०, अझै बढ्ने संकेत

काठमाण्डौं। सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ। आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन तोलामा ५ सयले उकालो लाग्दै सोमबार ७६ हजार रूपैयाँ पुगेको छ । 


अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ। सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय कायम हुँदा चाँदी पनि २० रूपैयाँले बढेर ९ सय २० प्रतितोला पुगेको छ ।
एक सातामा सुनको मुल्य २ हजार ७ सय रूपैयाँ बढेको हो । साताको पहिलो दिन ७३ हजार ३ सयमा कारोबार भएको सुन पछिल्लो एक महिनामा मात्रै ५ हजार २ सय रूपैयाँले बढेको हो।

यसरी सुनको मूल्य निरन्तर उकालो लाग्नुमा अमेरिका-इरान बीचको जारी तनावको असर रहेको व्यवसायी बताउँछन् । जारी तनावका कारण सेयर बजारमा आएको मन्दी आएपछि लगानीकर्ताको ध्यान सुनतर्फ आकर्षित छ । ‘अमेरिका र इरानको विवाद उत्कर्षमा पुग्दा त्यसको प्रभाव सेयर बजारमा परिरहेको छ,’ महासंघका उपाध्यक्ष ज्ञानुराजा शाक्य भन्छन्, ‘आफ्नो लगानीको सुरक्षाप्रतिको लगानीकर्ताको चिन्ताले सुनतर्फ आकर्षण बढ्दा विश्व बजारमै सुनको भाउ उकालो लागेको हो।‘ यस्तो बेला धेरैजसो चिनियाँ व्यापारीले सुनमा लगानी गरिरहेको उनले बताए । ‘चिनियाँ व्यापारीले अन्तर्राष्ट्रिय बजारमा सुन किनिरहेका छन्, यसले गर्दा बजार भाउ बढेको छ,’ उनले भने । 


विश्व बजारमा प्रभाव पार्ने अमेरिकी डलरको मूल्यमा समेत बृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव सुनमा परेको देखिएको छ।शाक्यका अनुसार नेपालमा अहिले सुनको कारोबारमा कमि आएको छ। मुल्य बढ्नु र अफ सिजन भएकाले कारोबार धेरै कम भएको छ। अहिले दैनिक २० केजी सुनको कारोबार भइरहेको छ। 

Source: bizmandu.com

You can share this post!